शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

“जितले हामी नेपालीहरुको शिर अझ अग्लिएको छ”- राजदूत

टोकियो – मार्शल आर्ट किक बक्सिङका जापान च्याम्पियनसिप-२०१० का विजेता मोहन ड्रागनले आज टोकियोमा भएको किक बक्सिङ टुर्नामेन्टमा उनका प्रतिद्वन्द्वी तानाका हिदेओलाई परास्त गर्दै फ़ेरि एकचोटी नेपालको नाम राखेका छन ।

नेपालको प्रतिनिधित्व गर्दै मोहनले आज टोकियो कोराकुयन हलमा भएको ’फाईट फर पिस’ प्रतियोगितामा फेरि अर्को सफलता चुमेका हुन् । चन्द्र, सूर्य अंकित राष्ट्रिय झण्डा फहराउँदै जोसिला नाराकासाथ आफ्ना सयौं समर्थक, प्रशंसक र शुभेच्छुकहरुको बिचमा घेरिएर मोहन स्टेडियम हलमा प्रवेश गर्दाको क्षणमा साँच्चिकै नेपाली राष्ट्रिय एकता पोखिएको थियो र नेपाली एकता प्रस्फुटन भएको आभास मिल्दथ्यो । खेलकूदमा पाईने एकताको दम भनेको यही हुनुपर्छ शायद।

मोहनलाई हौसला प्रदान गर्न जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, राजदूतपत्नी श्रीमती भट्टराई, एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्टलगायतका बिशिष्ट ब्यक्तित्वहरुका साथै सयौं नेपालीहरु खेल मैदानमा भेला भएका थिए । चौथो राउण्डसम्म अत्यन्त प्रतिस्पर्धात्मक रहेको सो टूर्नामेन्टको पाँचौ राउण्डमा आईपुग्दा आक्रामक ढंगले प्रस्तुत हुँदैं मोहनले प्रतिद्वन्द्वी तानाका हिदेओलाई लगातार बज्रमुक्का प्रहार गरेका थिए, अन्तत: मोहनको प्रहारलाई छल्न नसकी ढल्न पुगेका हिदेओ निर्धारित समयसम्म उठ्न नसकेपछि मोहन बिजयी घोषित गरिएका थिए ।

उनलाई जापानका लागि नेपाली राजदूत डा. भट्टराई र एनआरएन आइसीसीका कोषाध्यक्ष भट्टले हार्दिक बधाईस्वरुप खादार्पण गर्दै नेपालको शिर उच्च बनाएकोमा स्याबासी प्रदान गरेका थिए ।

आफ्नो किक बक्सिङ क्यारियरमा आजको प्रतिस्पर्धालाई सबैभन्दा महत्वपूर्ण र संबेदनशील बताउदै आएका मोहनले बिजय हात पारेपछि भने – “महामहिम राजदूतज्यू लगायत जापानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको न्यानो समर्थन, हौसला एवं मनोबलका कारण मैले यो जित हासिल गरेको छु, यो हामी सबैको जित हो । बिशेषगरी नेपाली समाचार, समुद्रपारि, नेपाल जापान डट कम लगायतका जापानका नेपाली मिडियाहरुले मेरो बारेमा महत्वकासाथ प्रचारप्रसार गरेकाले नेपालीहरुको यत्रो भेलाबाट मनग्गे हौसला पाएरै जित्न सफल भएँ, म अत्यन्त आभारी छु । जापानमा नेपालको बिजयको झण्डा फहराउने फेरि अर्को अवसर दिनुभएको छ । यो हामी सबैको लागि गौरवको कुरा हो ” उनले थपे ।

“जापानमा नेपालको नाम राखेरै छोडे मोहनले, म उनलाई बिशेष बधाई दिन्छु, यो सिंगो नेपालको जित हो, यो जितले हामी नेपालीहरुको शिर अझ अग्लिएको छ- मोहनको जितपछि नेपाली राजदूत डा. भट्टराईको प्रतिक्रिया थियो ।

एकताको प्रदर्शनसंगै जित आफ्नो पोल्टामा पारेका नेपालीहरुले मोहन ड्रागनको बिजयमा खुशीयाली मनाउदै स्टेडियम हलमा “यो जित कसको नेपालको” जस्ता राष्ट्रिय भावना जगाउने नारा लगाएका थिए । जापानीहरु भने नेपालीहरुको हर्षोल्लास देखेर दंग देखिन्थे । यसरी मोहनले फेरि जापानमा नेपालको नाम राखेका छन र राख्दै जानेछन् । ***

 

 

 

 

 

 

 

 

 

 

मोहन महर्जनको जोशिलो मुक्का प्रहारको भिडियो हेर्न क्लिक गर्नुहोस् –

 

तपाईको प्रतिक्रिया