शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं- कालिकोट जिल्लाको जुविथा गाविस ४ माईधारमा भएको मनवीर सुनार हत्या छुवाछुतकै कारण भएको दलित संघ संस्थाहरुद्वारा तयार पारिएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ ।
दलित गैरसरकारी संस्था महासंघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित सेवा संघ, दलित महिला संघ र राष्ट्रिय दलित नेटवर्कले मनवीर सुनार हत्याकाण्डको स्थलगत अध्ययन प्रतिवेदन आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । प्रतिवेदनले मानवीर सुनारको हत्या छुवाछूतकै कारणले हत्या भएको ठहर गरेको छ ।
स्थानीय बालकुमारी शाहीको पसलमा चुरोट किनी उनकै होटेलको चुलोबाट आगो झिकी चुरोट सल्काउन लाग्दा पानीले भरिएको जग ढलेको र होटल साहुनी बालकुमारी शाहीले ता ठूलो भएको डुम कमारा, तैले मेरो चुलो छुने भने पश्चात वादविवाद भएपछिको कुटपिटबाट मनवीर सुनारको मृत्यु भएको सार्वजनिक प्रतिवेदनले ठहर गरेको छ ।
पत्रकार सम्मेलनमा वादविवाद भए लगतै होटल साहु जसबहादुर शाहीले मनवीर सुनारलाई होटलबाट लात्तले हान्दै धकेलेर बाहिर निकालेको र सोही होटलको छाना छाउन आएका मिमबहादुर शाही र दीपबहादुर शाहीले पसलकै आँगनमा मरणासन्न हुने गरी पिटे, मनवीरलाई घरमा लगेर पानी खुवाउँदै गर्दा फेरी पनि मिमबहादुर र दीपबहादुले घरमै गएर पिटेर हत्या गरेको आरोप पनि दलित संघ संस्थाहरुले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले  भने- मनवीर सुनारलाई चुरोट सल्काएकै नाममा निर्घात पिटी हत्या गरिएको प्रमाणित भएको छ, मनवीर सुनारको हत्यालाई इन्सेक र स्थानीय शान्ति समितिले सार्वजनिक गरेको प्रतिवेदन झुठा हो, पीडित परिवारलाई क्षतिपूर्ति र उनका बालबालिकाको उचित शिक्षाको व्यवस्था राज्यले गर्नुपर्छ ।
नेपाल राष्ट्रिय दलित समाजकल्याण संघका अध्यक्ष भक्तबहादुर विश्वकर्माले छुवाछूतको विषयमै दलितको हत्या भएकोले हत्यारालाई ज्यानमारा अभियोगमा कडाभन्दा कारवाही गर्न माग गरे ।
पत्रकार सम्मेलनमा दलित सेवासंघका अध्यक्ष चक्रमान विश्वकर्मा, दलित महिला संघकी अध्यक्ष दुर्गा सोव, मनवीर सुनार हत्याकाण्डको अध्ययन टोलीकी सदस्य छाया सुनार, तीर्थ विश्वकर्माले मनवीर सुनारको हत्या छुवाछूतकै आधार गरिएको दावी गरेका थिए ।

तपाईको प्रतिक्रिया