बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं- सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादी र प्रतिपक्षी दलहरुबीच बिबाद बढ्दै गएका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेले मिलेर आफूहरुलाई एक्ल्याउन खोजेको भन्दै गुनासो गरेका छन् ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग लाजिम्पाटस्थित नयाँ निवासमा भएको भेटमा दाहालले तीन दलबीच वार्ता र सम्वाद भइरहेकाबेला कांग्रेस-एमालेले मोर्चाबन्दी गरेकोमा आपत्ति जनाए । ‘शान्ति प्रक्रियामा लामो समयसम्म काम गरेको मान्छे (नेता नेपाल) नै एकपक्षीय भएकोमा दुःख  लागेको छ,’ दाहालको भनाइ उद्यृत गर्दै स्रोतले भन्यो ।
दुई नेताबीच आइतबारदेखि नै शान्ति र संविधान लेखन प्रकृयालाई अगाडि बढाउन वार्ता र छलफललाई निरन्तरता दिने सहमति पनि भएको छ । भेटमा प्रचण्डले शान्ति र संविधान लेखन प्रकृयालाई निष्कर्षमा पुर्‍याउन आफू प्रतिवद्ध रहेको र सहयोगका लागि एमाले नेता नेपाललाई आग्रह गर्नुभएको थियो ।
भेटमा नेता नेपालले संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठक नबोलाएको, संवैधानिक समितिको बैठकमा उपस्थितसमेत नभएको भन्दै दाहालको आलोचना गरेका थिए । जवाफमा दाहालले आफूले व्यस्तताका कारण समय दिन नसकेको तर भोलिदेखि नै सवै बैठकमा उपस्थित हुने जानकारी दिए ।
झण्डै एक घण्टा भएको भेटमा म्यादभित्रै विवाद समाधानमा सहमति जुटाउने, संसद् अवरोधलगायतका विषयमा छलफल भएको दाहालका स्वकीय सचिव समिर दाहालले जानकारी दिए । दाहालले शासकीय स्वरुपमा कांग्रेस संसदीय प्रणालीमा अडिग रहनु, माओवादीलेमात्रै सवै विषय छाड्दै जानेजस्तो व्यवहार देखाएकोमा चिन्ता जनाएका थिए ।

तपाईको प्रतिक्रिया