बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
  • माओवादी पछि हट्योः नेपाल

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई कमजोर तुल्याउँदै गएको आरोप लगाएका छन् ।
सशस्त्र युद्धका बेला माओवादी ‘जनसत्ता’ले गरेका घरजग्गा किनबेच, अंशबन्डा र बकसपत्रका निर्णयलाई सरकारले वैद्यता दिएकोमा प्रतिपक्षी दलको विरोधलाई दाहालले ‘चियाको कपमा तुफान ल्याउने कोसिस’ भनेका थिए । निर्णयविरुद्ध संविधानसभाका डेढ दर्जन दल उभिएपछि पौडेलको यस्तो प्रतिक्रिया आएको हो ।
‘प्रचण्ड यति धेरै कमजोर हुनुहोला र चियाको कपको तुफानमा नै उड्नुहोला भन्ने मलाई लागेको थिएन,’ शुक्रबार १७ दलको बैठकपछि संसदीय दलको कार्यालय सिंहदरवारमा सञ्चारकर्मीसित उनले भने, ‘यो ठूलो कमजोरी र हल्कापन हो ।’ उनले दाहालको अभिव्यक्तिले शान्ति र संविधान अगाडि बढ्नेमा शंका व्यक्त गरे ।
संवैधानिक समितिमा भएको माओवादीको रवैया, माओवादी पार्टी बैठकबाट आएका अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईका अभिव्यक्तिले गम्भीर सङ्केत दिएको महसुस गरिएको पौडेलले बताए । ‘शान्ति, संविधान नै धरापमा पर्न लाग्यो भन्ने आशङ्का उब्जिएको छ, माओवादी शान्ति सम्झौताभन्दा अगाडिको स्थितिमा र्फकन खोज्यो कि भन्ने आशङ्का बढेकाले यसबारे विभिन्न तहमा छलपल, विश्लेषण गरेर निष्कर्ष निकालिनेछ,’  उनले भने ।
एमाले नेता नेपालले माघ ८ गतेसम्म थपिएको म्याद सकिन लाग्दा पनि दाहालले विवाद समाधान उपसमितिको बैठक नबोलाएकोमा आक्रोस पोखे । ‘माओवादीले शान्ति प्रक्रियालाई टुङ्ग्याउन खोजेको छैन, विशेष समितिको बैठक पनि डाक्न प्रधानमन्त्रीको कुनै चासो छैन, संविधान निर्माणमा पनि गम्भीरता नदेखिएको र भएको सहमतिबाट पनि पछाडि हटेका छन्,’ नेता नेपालले भने ।

तपाईको प्रतिक्रिया