शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – राती अवेरसम्म माघेसंक्रान्ति मनाएर फ़र्कदै गर्दा अज्ञात जापानीहरुको समुहद्वारा गरिएको आक्रमणमा परी ओसाकामा हत्या गरिएका बिष्णु धमलाको शव आज नेपाल पठाइने भएको छ । मृतक धमलाको शव जिम्मा लिएका धमला पत्नी ताकाहासी र उनका भाञ्जाद्वयले धमलाको शव लिएर आजै साँझ कान्साई बिमान स्थलबाट बैंकक हुँदै भोलि काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको ओसाकाबाट हाम्रा सहकर्मी तुल्सीराम खरेलले बताएका छन् ।

खरेलकाअनुसार जापानस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तापस अधिकारी र एनआरएन आइसीसीका प्रमुख संरक्षक देवमान हिराचनले हिजो घटनास्थलको अवलोकन गर्नुकासाथै धमला परिवारलाई भेटी समवेदना ब्यक्त गरेका थिए भने स्थानिय प्रहरी कार्यालयमा गएर घटना बारे जानकारी लिएका थिए ।

गत सोमबार बिहान ४ बजे आफ्नो रेष्टुरेन्टबाट डेरामा फ़र्कदै गर्दा बिपरित दिशाबाट आएका ४ जना जापानीहरुको समूहले उनीमाथि सांघातिक हमला गरेका हुन् । उनलाई निर्मम कुटपिट गरेर हत्या गरिएको थियो ।

धादिङ घर भई हाल काठमाडौं निवासी ४२ बर्षिय बिष्णु धमला एकदशक अगाडिदेखि जापानमै थिए । जापानी श्रीमती भएका धमलाले रेष्टुरेन्ट ब्यवसाय गर्दै आएका थिए । आफ्नै रेष्टुरेन्टमा कार्यरत रोहित अधिकारी र देवराज मगर नाम गरेका २ जना स्टाफसहित डेरामा फ़र्कदै गर्दा अन्धाधुन्ध उनीमाथि आक्रमण गरिएको थियो । ती दुइ स्टाफ माथि पनि आक्रमणकारीहरु जाईलागेको भएपनि उनीहरु दूबै उम्कन सफल भई नजिकको पसलमा पुगेर प्रहरी बोलाउन भ्याएका थिए ।

हत्यामा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ भने बाँकी २ जना अझै फरार छन् । हत्यामा संलग्न ४ जनाको समूहमा २ जना महिला पनि रहेको बुझिएको छ ।

ओसाकाको तेन्नोजी सिटीको मात्सुजाकी चो मा पर्ने “नेपाली भान्साघर” नामको रेष्टुरेन्टका मालिक धमला हत्या प्रकरण बारे स्थानिय जापानी मिडियाले आपसमा झगडा हुँदा गम्भीर चोट लाग्न गई निधन भएको भन्ने गलत प्रचारबाजी गरेको भन्दै स्थानिय नेपालीहरुले बिरोध जनाउनुका साथै सच्याउन दबाब दिएपछि समाचार सच्याईएको थियो । उनको हत्याको बिरोधमा जापानको नेपाली समुदायले कडा शब्दमा भत्सर्ना गर्नुका साथै सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गर्दै आईरहेका छन् ।

पोष्टमार्टमपछि धमलाको शवलाई प्रहरीले मंगलबार आफन्तको जिम्मा लगाएको थियो । स्व. धमलाकी जापानी पत्नी ताकाहासी र उनका भाञ्जाहरुले लास जिम्मा लिई नेपाल लैजाने भएका हुन् । उनको लास नेपाल पुर्‍याउने लगायतका आपतकालिन कार्यमा राहत होस् भन्ने हेतुले कान्साईबासी नेपालीहरुले आर्थिक सहयोग पनि जुटाई हस्तान्तरण गरेका छन् ।

उक्त रहस्यमय हत्या प्रकरणमा अपरिचित जापानीहरुले रातकोबेला बिना कारण किन र कसरी धमलाको ज्यानै लिने सम्मको हर्कत गरे भन्ने रहस्यको पोको भने अझै खुल्न सकेको छैन ।

शान्ति सुरक्षाको दृष्टिले संसारमै कहलिएको देश जापानमा सानोतिनो ब्यवसाय चलाएर बसेका धमलालाई ज्यानै लिनेसम्मको घटना किन र कसरी हुन गयो यो अत्यन्त रहष्यको बिषय बनेको छ । मृतक धमला निकटकाअनुसार उनको कसैसंग कुनै रिसइवी र वैमनष्यता नरहेको बताइंन्छ ।

जापानजस्तो मुलुकमा यसको उचित छानबिन र अनुसन्धान होला-नहोला, त्यो भविष्यले बताउला तर सत्य र न्यायको पक्षमा आवाज बुलन्द गर्नका लागि फेरि एकपटक जापानमा नेपाली एकताको प्रदर्शन गनैपर्ने बेला भने अवश्य आएको छ । ***

तपाईको प्रतिक्रिया