शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

२०१२ ले हामी सबैलाई स्वागत गरिसकेको छ । हामी नेपालीहरुको क्यालेण्डर फरक हुँदा हुँदै पनि संसारका अधिकांश देशहरुमा अंगिकार गरिएको इस्वी संवतबाट टाढा रहन सक्ने अवस्था छैन । संसारका विभिन्न देशमा फैलिएका करिब ३० लाख नेपाली यही इस्वी संवतको क्यालेन्डरका भरमा दैनिकी चलाइरहेका छौं । जापान पनि यसबाट अछुत छैन । जापानबासी हामी नेपालीहरु नयाँ वर्षको रमाइलो कल्पना गर्दै वितेको एक वर्षको समीक्षा गर्ने अवस्थामा आइपुगेका छौं । जापानमा बस्ने हामी नेपाली समुदायका लागि र समग्रमा नेपाल र नेपालीका लागि २०११ कस्तो रह्यो त्यसको समीक्षा र २०१२ कस्तो भैदिए हुन्थ्यो भनेर कल्पना गर्ने र योजना बनाउने क्रम आ–आफ्नै ढंगबाट शुरु भैसकेको छ ।

आर्थिक मन्दीले जकडिएको विश्वको दोश्रो अर्थतन्त्र जापान २०११ मा तेस्रो स्थानमा झर्नपुग्यो । वर्षको अन्तिम समयसम्म पनि आर्थिक मन्दीलाई चिर्न संसारकै कुनै राष्ट्रलाई पनि सफलता मिलेको छैन । जापानले त गत वर्ष यति ठूलो प्राकृतिक प्रकोपको सामना गर्न पर्‍यो कि अबका कति वर्ष पछाडिसम्म पनि २०११ को महाभूकम्पबाट सिर्जित नकारात्मक असरको जालोमा रुमलिनु पर्ने अवस्था छ । खासगरी आणविक भट्टी दुर्घटनाको असर लामो समयसम्म रहने हुँदा यो शताब्दिको अन्त्यसम्म पनि २०११ को दुर्घटना नचाहँदा नचाहँदै पनि सम्झनुपर्ने हुनसक्छ । धन्न जापानको अर्थतन्त्र सरकारमा मात्र नभएर जनताको तहसम्म पनि बलियो भएका कारण र यहाँका जनताको सहयोगी भावना तथा सक्षमताका कारण त्यति ठूलो प्रलय र दुर्घटनालाई सक्दो हदमा व्यवस्थापन गरिसकेका छन् ।

जापानको नेपाली समुदायका लागि पनि स्वभाविकरुपमा २०११ व्यवसायिक वा रोजगारीका क्षेत्रमा सहज वर्ष हुन सकेन । ब्यापार व्यवसाय वा काम जे गर्नेहरुलाई पनि आर्थिकमन्दीको असर चर्कै पर्‍यो । जापानमा नेपालीहरुको बढ्दो क्रममा रहेको रेष्टुरेन्ट व्यवसाय २०११ मा शिथिल हुन पुगेको छ । संख्यात्मक बृद्धि त रोकिएकै छ । अहिलेसम्म जेनतेन धानिएकाहरु कहिले देखि बन्द हुने हुन् र कतिका रोजीरोटीका समस्या खडा हुने हो भन्ने भय ब्याप्त छ । विगत ५ वर्षमा जापानमा नेपाली व्यवसायीहरुको बृद्धि उल्लेखनीय रुपमा भएको थियो । त्यसले व्यवसाय र रोजगारी दुवैका अवसर बढिरहेका थिए । तर विगत एक वर्षमा यो उल्टो गतितिर हिड्न थालेको संकेत मिलिरहेको छ । संख्यामा यकिन नभए पनि अन्य विदेशीहरु जस्तै थुप्रै नेपाली स्वदेश फर्किएका छन् । कामका अवसरका कमिले अध्ययन अनुसन्धानका लागि आउनेहरुको संख्या पनि घट्न थालेको छ । नेपाली विद्यार्थीहरुको रोजाइमा जापान अग्रस्थानमा पहिलेदेखि नै नभए पनि यहाँका विभिन्न समस्याहरुले अझ रुचि घटेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । प्रशिक्षार्थी कामदार २०११ मा निकै बढ्ने अपेक्षा भए पनि यथार्थमा त्यस्तो हुन सकेको देखिएन ।

सन् २०१२ नेपालको सन्दर्भमा साँच्चै जुग जुग भर सम्झनलायक वर्ष बन्ने सम्भावना छ । संविधान निर्माणको लागि थपिएको सम्भवत अन्तिम समय यही वर्षभित्र पर्छ । तोकिएको समय भित्र संविधान निर्माण हुन सक्यो भने नयाँ संविधानअनुसार देशमा आम निर्वाचन पनि सन् २०१२ भित्रै हुन सक्छ । अरु सबैकुरा छोडेर देशले २०१२ भित्र संविधान पाउन सक्यो भने मात्रै पनि यो हाम्रा लागि ठूलो उपलब्धी हुने छ । असहजतालाई चिर्न सके सहजता भेटिन्छ भनिन्छ । धेरै नराम्रा पक्षहरु अर्थात् अध्याँरा रातहरु पछि उज्याला दिनहरुको आशा गर्न सकिन्छ । २०११ र त्यसअघिका केही वर्षलाई पनि हामीहरुले त्यसरी नै लिनुपर्ने भएको छ र आगामी एक वर्ष नेपाल र नेपालीका लागि विशेष वर्ष र सँधैं सँधैं सम्झनयोग्य वर्ष बन्न सकोस् र हामी सबै त्यसका निम्ति सहयोगीसिद्ध हुन सकौं । जापानमा पनि जापानबासी नेपालीहरुबीच अझ बढी सहयोगी र मैत्री भावनाको बृद्धि होस् । आर्थिकरुपमा सबैको उन्तति प्रगति हुनसकोस् । हामी नव वर्ष २०१२ को यस शुभ मुहुर्तमा सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छौं ।

तपाईको प्रतिक्रिया