बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
   
 सुरज कुँवर 
ललितपुर, पुस २७ – नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को हल मंगलबार मध्यमाञ्चल विकास क्षेत्रका ४० भन्दा बढी आयोजना र कार्यक्रम प्रमुखहरूले खचाखच थियो । कार्यक्रम थियो, राष्ट्रिय योजना आयोगले थालेको क्षेत्रीय भेला । प्रमुख अतिथि योजना आयोगकै उपाध्यक्ष दीपेन्द्रबहादुर छेत्री ।
बिहान ९ बजे सुरु कार्यक्रममा प्रमुख अतिथिले बोल्ने पालो आउँदा साँझको सात बज्नै लागिसकेको थियो । उनी आयोजनाले बेहोर्नुपरेका झमेला र लोडसेडिङलगायत समस्याबारे बोल्दै थिए- बत्ती झ्याप्पै गयो ।
‘लौ जा !’ हलमा बसिरहेका हाकिमहरू बोले, ‘जेनेरेटर त होला नि ।’ अँध्यारो हलमा कलङमलङ मात्रै सुनियो । छेत्रीले भने, ‘होस् बत्ती आउँदै गर्छ, म सकिहाल्छु !’ उनले हाते माइक्रोफोन टेबुलमा राखेर भाषणलाई निरन्तरता दिए ।
त्यसअघि माथिल्लो तामाकोसी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ऊर्जा मन्त्रालयलगायत दुई दर्जनभन्दा बढी आयोजना र कार्यक्रमका प्रमुखले ऊर्जा स्थितिबारे बोलेका थिए । त्यसक्रममा लोडसेडिङ घटाउन देखिएका समस्या, विद्युत् प्रसारण लाइन विस्तारका क्रममा अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा विवाद, उच्च क्षमताको हाइटेन्सन लाइनमुनिका जनताले टुकी बाल्नुपर्ने अवस्था, ढल्केवर हुँदै विस्तार भइरहेको अन्तरदेशीय विद्युत् प्रसारण लाइनको भौतिक प्रगति आदिबारे छलफल भएको थियो ।
दस घन्टाअघिदेखि कार्यक्रममा बसिरहेका सहभागी साँझ छिप्पिएसँगै चिसोमा सिउसिउ गर्न थालिसकेका थिए । हल अँध्यारो भएपछि सहभागी सबैले आ-आफ्ना गोजीको मोबाइल झिकेर उज्यालो बनाइरहेका थिए । सचिव युवराज भुसाल पनि मञ्चमा आसीन वक्ताहरूको अनुहारतर्फ मोबाइल सोझ्याउँदै उज्यालो पारिरहेका थिए । सायद स्थिति बुझेर होला, उपाध्यक्ष छेत्रीले मन्तव्य टुंग्याउँदै भने, ‘लौ, बत्तीले पनि धोका दियो, यत्रो समय चिसोमा धैर्यतापूर्वक कार्यक्रममा बसिदिनुभयो, सबैलाई धन्यवाद ।’
उनको मन्तव्य सकिएपछि मञ्चपट्टिको ढोकाबाट मोबाइल बाल्दै एक व्यक्ति पसे र सोधे, ‘सर बत्ती बाल्नुपर्छ ?’ कार्यक्रम सञ्चालन गरिरहेका आयोगका सहसचिव धु्रवप्रसाद दाहालले भने, ‘बालिदेऊ न । १० मिनेटजतिमा त कार्यक्रम नै सकिन्छ ।’
अँध्यारोमा अनुहार ठम्याउन नसकिएका ती व्यक्ति रहेछन्, स्टाफ कलेजकै कार्यालय सहयोगी मीनबहादुर जिरेल । उनी मोबाइल पिलपिल पार्दै जेनेरेटर चलाउन निस्किए ।
उद्घोषले कार्यक्रम सूचीअनुसार दोस्रो सत्रमा तय गरिएका योजना आयोग, केन्द्रीय तथ्यांक विभाग, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयको प्रस्तुति त्यसअघि नै कटौती गरिसकेका थिए । तेस्रो सत्रका लागि राखिएका छलफललगायत कार्यक्रम पनि मिचेर उनले आयोगका सदस्य शिवकुमार राईलाई दोस्रो सत्रको समीक्षा गर्दै कार्यक्रम समापन गर्न भने । राईले पनि अन्धकारमै क्षेत्रीय भेलामा उठेका राष्ट्रिय मुद्दा र समस्या सम्बोधन गरे । ५ मिनेटजतिमै मन्तव्य टुंग्याउँदै उनले भने, ‘ल साथीहरू खुट्टा भाँचिएला विस्तारै बाहिर निस्कौं ।
मुलुकका विकास योजनाहरूको योजना तर्जुमा गर्ने मुख्य निकाय आयोगका उपाध्यक्षसहित सबै सहभागी अन्धकारमै बाहिरिए । अधिकांश सहभागी गाडीतिर पुगिसकेपछि पार्किङको चौरबाट घ्यारर्र जेनेरेटरको आवाज सुनियो । त्यतिन्जेल हल भने रित्तै भइसकेको थियो ।

तपाईको प्रतिक्रिया