शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
केपी ढुंगाना, काठमाडौं, पुस २७– क्याप्सुल बनाइएको एक किलो २ सय ग्राम सेतो हेरोइनसहित धादिङ सेर्तुङका सुपारोङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अफगानिस्तानबाट दिल्ली हुँदै काठमाडौं भित्र्याइएको हेरोइनसहित सोमबार तामाङ पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाइका डिआइजी यादव अधिकारीका अनुसार सो हेरोइन छ दिनअघि काठमाडौं ल्याइएको हो। प्रहरीका अनुसार अफगानिस्तानमा हेरोइनका एक सय ३ वटा क्याप्सुल निलेर हवाईमार्गबाट नयाँ दिल्ली भिœयाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।
 
त्यहीँ क्याप्सुल निकालेर स्थलमार्ग हुँदै २० गते काठमाडौं ल्याइएको प्रहरी बताउँछ। एक अफ्रिकी नागरिकमार्फत नेपालबाट हवाइमार्ग प्रयोग गरी युरोपियन मुलुक पठाउने योजनासहित हेरोइन सामाखुसीस्थित सुपारोङको डेरामा राखिएको थियो। ‘हामीले एक महिनादेखि सुपारोङलाई निगरानीमा राखेका थियौं,’ मंगलबार प्रारम्भिक अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै इकाइका एसएसपी नवराज सिलवालले भने, ‘हेरोइन लिन आउने व्यक्ति नआएपछि सोमबार उनलाई पक्राउ गर्‍यौं।’
एसएसपी सिलवालका अनुसार लागूऔषध कालो बजारमा एक सय ग्राम सेतो हेरोइन १० लाखसम्ममा बिक्री हुन्छ। पक्राउ गरिएको हेरोइनको नेपाली बजारमूल्य अन्दाजी एक करोड २० लाख रहेको उनले बताए।
प्रहरी अधिकारीका अनुसार अफगानिस्तानबाट नेपालसम्म हेरोइन ल्याउँदा तीनजना संलग्न रहेको खुलेको छ। अफगानबाट नयाँदिल्लीसम्म क्याप्सुल निलेर आउने व्यक्तिको पहिचान भने अझै खुलेको छैन।
दिल्लीबाट सामाखुसीसम्म हेरोइन बोक्ने लुनीमान तामाङ पनि फरारै छन्। ‘छ दिनअघि प्लास्टिकमा पोको पारेर लुनीमानले मलाई हेरोइन दिएका थिए,’ इकाइको हिरासतमा रहेका सुपारोङले नागरिकसँग भने, ‘प्रशान्त तामाङले लिन आउँछु भनेका थिए, तर आएनन्।’ अफगान नेटवर्कमा ‘धादिङकी काइँली’ समूह प्रहरी अधिकारीका अनुसार अफगान रहेकी धादिङकी गोपी भनिने काइँली तामाङले त्यहाँबाट हेरोइन नेपाल पठाएकी हुन्।
पाकिस्तानमा बसेर लामो समयदेखि अफगानी हेरोइन कारोबारमा सक्रिय उनी पछिल्लो समय अफगानै छिन्। धादिङ दुर्गम गाउँ सत्यदेवीकी उनी करिब १५ वर्षदेखि पाक-अफगान बस्दै आएकी छिन्। प्रारम्भमा लागूऔषध भरियाको रुपमा कारोबारमा छिरेकी काइँलीले पाकिस्तानमा तान्जिनियन नागरिकसँग विवाह गरेर कारोबार सुरु गरेको प्रहरी अधिकारीको दाबी छ।
अफगानी हेरोइनलाई लागुऔषधको अर्न्तराष्ट्रिय बजारमा पुर्‍याउन उनले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै आएकी छिन्। प्रहरी अधिकारीका अनुसार प्रारम्भमा पाकिस्तानबाट नेपालसम्म ल्याउन उनले स्थलमार्ग प्रयोग गर्थिन्।
पाकिस्तानबाट अफगानिस्तान पुगेपछि उनले अफगान-दिल्ली रुटका हवाइमार्ग प्रयोग गरी स्थलमार्गबाट नेपालमा हेरोइन भिœयाउन सक्रिय छिन्।
उनले नेपाली भरियामार्फत हेरोइन काठमाडौंसम्म पुर्‍याउने इकाइ अधिकारी बताउँछन्। उनले नेपालबाट तान्जिनियन, नाइजेरियनलाई प्रयोग गरेर तेस्रो देश पुर्‍याउने सक्रिय छिन्। ‘सो हेरोइन काइँलीले नै नेपाल पठाएको देखिन्छ,’ इकाइका डिआइजी अधिकारीले भनेर सुपारोङ उनकै समूहका सदस्य हुन्।’
इकाइ प्रहरीका अनुसार उनको समूहमा २०-वर्षदेखि ५० वर्षसम्मका लागूऔषध भरिया सक्रिय छन्। भारत, बंगलादेशमा समेत उनको समूहका सदस्य पक्राउ परे पनि नेपालमा उनीविरुद्ध प्रहरीले प्रमाण संकलन गर्न सकेको थिएन।
पाँच वर्षअघि इकाइका अधिकारीले बालाजु वसन्तनगरमा रहेको उनको घरमा छापा मार्दा हेरोइनसहित उनका छोराछोरी र सहयोगी पक्राउ परेका थिए। उक्त अप्रेसनमा प्रहरीले उनको समूहका धादिङ झर्लाङकी ३८ वर्षीया दाबा लामा तामाङ, गोर्खा खोप्लाङकी ३० वर्षीय तिलमाया तामाङ, धादिङ सत्यदेवीकी ५९ वर्षीया डोलकुमारी तामाङ र ४० वर्षीय मुइसाङ तामाङलाई समेत पक्राउ गरेको थियो।
तर, उनको खोजीका लागि प्रहरीले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिएको छैन। एसएसपी सिलवालले उनीबारे प्राप्त प्रमाणका आधारमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराउने तयारी गरेको बताए।
लागूऔषधको ट्रान्जिट
इकाइको तथ्यांकअनुसार सन् २०११ मा नेपालभर ११ किलो हेरोइन बरामद भएको छ। त्यसमध्ये चार किलो सेतो हेरोइन रहेको इकाइका डिएसपी रविन्द्र रेग्मीले बताए। प्रहरीले यस अवधिमा लागूऔषध कारोबारमा संलग्न अभियोगमा २ हजार २ सयजनालाई पक्राउ गरेको छ। जसमध्ये २ हजार १ सय नेपाली र एक सय ३५ विदेशी हुन्।
अधिकांश नेपाली, औषधीजन्य लागूऔषध, गाँजा, चरेस कारोबारमा पक्राउ परेका छन् भने अधिकांश विदेशी खैरो र सेतो हेरोइन कारोबारमा समातिएका छन्। इकाइको तथ्यांकअनुसार नेपालमा समेत सेतो हेरोइन प्रयोग गर्ने दुर्व्यसनी छन्, प्रयोगकर्ता भने अत्यन्त न्यून। नेपाल भित्रिने पाँच प्रतिशत सेतो हेरोइनमात्र नेपालमा खपत हुन्छ, त्यो पनि न्यून गुणस्तरको।
‘नेपालमा सेतो हेरोइन १२ ग्रामको ५० हजार रुपैयाँ पर्छ,’ एसएसपी सिलवालले भने, ‘महँगो भएकाले नेपालका दुर्व्यसनीले औषधीजन्य लागूऔषध र सस्तो खैरो हेरोइन बढी प्रयोग गर्छन्।’
कारोबारीले नेपाललाई ट्रान्जिट बनाएर हवाइमार्ग र स्थलमार्गबाट तेस्रो देश लैजान सेतो हेरोइन नेपाल भिœयाउने गरेको प्रहरीको निष्कर्ष छ।
प्रहरी अधिकारीका अनुसार हेरोइनको अवैध बजारमा ९० प्रतिशत अफगानी हेरोइनले धान्ने गरेको छ।
इकाइको तथ्यांकअनुसार हेरोइन कारोबारीले अफगानबाट भारत-नेपाल, बंगलादेश-काठमाडौंको स्थलमार्ग रुट प्रयोग गरेर तेस्रो देश लैजाने गरेका छन्। कारोबारीले पाकिस्तान-काठमाडौं, कतार-काठमाडौं र बैंकक-काठमाडौं हवाइमार्ग प्रयोग गरी हेरोइन नेदरल्यान्ड, स्पेन, साउथ अफ्रिका पुर्‍याउने गरेका छन्।
तेस्रो देशमा सेतो हेरोइन पुर्‍याउन पछिल्लो समय काठमाडौं-खासाको स्थलमार्गमा समेत कारोबारी सक्रिय देखिएको इकाइ अधिकारी बताउँछन्।
‘बरामद मात्राका आधारमा दक्षिण एसियामा हामी लागूऔषध नियन्त्रणमा सबैभन्दा सफल छौं,’ एसएसपी सिलवालले दाबी गरे, ‘तर नेपलालाई ट्रान्जिट हुनबाट रोक्न अझै प्रभावकारी अप्रेसन खाँचो छ।’

तपाईको प्रतिक्रिया