शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

दुबई । वैदेशिक रोजगारीका सिलसिलामा बिदेशिएका नेपालीहरुले विश्वको जुनसुकै देशमा पुगे पनि आफ्नो खेल, परम्परा, सँस्कृति र समाजलाई कायम राख्दै एकआपसमा भाईचारा र सहयोगको आदानप्रदान गरेको पाईन्छ । आफ्नो कामबाट बचेको समयलाई सदुपयोग गर्दै कुनै न कुनै क्षेत्रमा खर्च गरेर सहयोगको भावनालाई उजागर गरेको प्रशस्त रुपमा सुन्न, हेर्न र देख्न समेत पाइन्छ ।

यस्तैगरी युएइस्थित प्रवासी नेपालीहरुलाई आइपर्ने समस्याको समाधान र उद्धार गर्ने हेतुले स्याङ्जावासीहरुको पहलमा स्थापना भएको स्याङ्जा सहयोग समाज युएइले गत ६ जनवरी २०१२ शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा आफ्नो कार्यकाल एक बर्ष पूरा भएको उपलक्ष्यमा रमाईलो साँस्कृतिक कार्यक्रमका साथ बार्षिक उत्सव मनाएको छ ।

उक्त बार्षिक उत्सव कार्यक्रमको अध्यक्षता अध्यक्ष भूपति न्यौपानेले गर्नुभएको थियो भने मुख्य अतिथिको आसनमा दूतावासका उपनियोग प्रमुख दीपक अधिकारी रहनुभएको थियो । त्यस्तैगरी अन्य अतिथिमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, व्यावसायी, कलाकार, बुद्धिजीवि र पत्रकारहरु रहेका थिए ।

दुबईको हल्का ठण्डीको मौसमलाई चिर्दै स्थानीय कलाकारहरुले निकै तताएका थिए । एकातिर रेखा घिमिरेको आफ्नै एल्बमको गीत…मेरो खुशीभित्र तुहाएको पाप लाग्ला…..भन्ने गीतले आकषिर्त गरेको थियो भने अर्कोतिर दुबईको लोकदोहोरी साँझका गायिका पार्वती गुरुङ, सम्झना गुरुङ र ओमप्रकाश भट्टराईको छिनको छिनैमा…भन्ने दोहोरी गीतले दर्शकहरुलाई नै नचाउनमासम्म सफल भएका थिए । यस्तै खालका विभिन्न विविध साँस्कृतिक कार्यक्रमले नयाँ बर्षको आरम्भमा नै दर्शकहरुको मन जित्नमा सफल भएको थियो ।

सो अवसरमा युएइमा रहेर विभिन्न क्षेत्रमा आफ्नो योगदान दिने व्यक्तिहरुलाई प्रशंसा-पत्र दिएर सम्मान गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा पत्रकार भुपुराज बस्यालको सञ्चालन रहेको थियो भने दोस्रो चरण साँस्कृतिक कार्यक्रम गायक छविकिरण भट्टराईले सञ्चालन गरेका थिए । ***

तपाईको प्रतिक्रिया