शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

लण्डन – शिक्षा मन्त्री एवं एकिकृत नेकपा माओवादीका नेता दिनानाथ शर्माले लोकतन्त्रप्रति माओवादी प्रतिवद्ध रहेको बताएका छन । गैर आवासीय नेपाली संघ युकेले नागरिकता सम्बन्धि नेपाल सरकारको धारणा बुझ्न आइतबार अल्डरसोटस्थित निरमाया रोधीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले लोकतन्त्रप्रति पार्टी प्रतिबद्धता दोहोर्‍याएका हुन । लोकतन्त्रकै लागि माओवादीले १० बर्ष शसस्त्र आन्दोलन गरेको स्पष्ट पार्दै मन्त्री शर्माले माओवादीको नियतमाथि शंका नगर्न आग्रह गरे ।

एनआरएनको नागरिकता बचाउ अभियानप्रति आफनो पार्टी स्पष्ट भएको उनले बताए । ‘माओवादी एनआरएनलाई नागरिकता दिन तयार रहेपनि एउटा पार्टीको निर्णयले मात्र त्यो संभव नहुने उनले बताए । मन्त्री शर्माले नागरिकताका सम्बन्धमा अन्य दलसंग छलफल गर्ने आश्वासन दिए । गोर्खा भर्ती केन्द्र बन्द गर्ने पार्टीको सोच नभएको समेत उनले स्पष्ट पारे । बेलायत सरकारसंग भएका पुराना सन्धी सम्झौता पुनरावलोकनको चर्चा समेत नचलेको अवस्थामा गोर्खा भर्ती बन्द हुन्छ भन्नु निराधार भएको मन्त्रीले जानकारी दिए ।

शिक्षा मन्त्रीस्तरीय ३ दिने शैक्षिक कार्यक्रममा भाग लिन शिक्षा सचिव किशोर थापासहित आइतबार बेलायत आएका मन्त्री शर्माले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सवालमा सरकार गम्भीर भएको जानकारी दिए ।

एनआरएन युकेका अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालीसेले एनआरएन नेपालका लागि ‘स्ट्राटेजिक रिसोर्स’ भएको बताए । उनले एनआरएनबाट नेपालले धेरै आशा गरेकोले उनीहरुको जायज माग राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
शिक्षा सचिव किशोर थापाले बेलायतले शैक्षिक नीति खुकुलो बनाएयता करिब २२ हजार सातसय विद्यार्थीहरुले मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएको जानकारी दिए । सचिव थापाले नेपालमा आचरण विपरित काम गरीरहेका कन्सल्टेन्सीहरुलाई अनुगमन गर्ने संयन्त्र निर्माण भइरहेको जानकारी दिए ।
कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष क्याप्टेन हितमान गुरुङले एक पटकको नेपाली सँधैको नेपाली भएर बाँच्न चाहेकोले त्यो अधिकारबाट बञ्चित नगर्न आग्रह गरे ।
सल्लाहकार डा. राघवप्रसाद घितालले विश्वका केहि मुलुकमा मात्र दोहोरो नागरिकताको प्रवाधान भएकोले भारत तथा सार्क मुलुकमा रहेका नेपालीदेखि सरकार डराउन नपर्ने तर्क गरे ।

कार्यक्रममा एनआरएन युकेका उपाध्यक्ष महेन्द्र कँडेलले शिक्षामन्त्री शर्माको सहभागिताले सिंगो एनआरएनको साख बढेको बताए । उनले कार्यक्रमका सहभागिहरुलाई स्वागत मन्तव्य दिएका थिए ।

सो अवसरमा मन्त्री शर्मा तथा सचिव थापालाई एनआरएन अध्यक्ष कुल आचार्यले खादा लगाई स्वागत गरेका थिए । कार्यक्रममा सहभागी एनआरएन युकेका सल्लाहकारहरुलाई शिक्षा मन्त्री शर्माले खादा लगाई सम्मान गरे । मन्त्री शर्मालाई सहभागीहरुले गोर्खा भर्ति, एनआरएनको दोहोरो नागरिकता, संविधान निर्माण एवं शान्ति प्रक्रिया एवं पार्टीभित्रका आन्तरिक विवादका बारेमा जिज्ञासा राखेका थिए । ***

तपाईको प्रतिक्रिया