शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – म्याग्दी जिल्लाबाट बेलायतमा आई बसोबास गरेकाहरुले जिल्लामा २ वटा एम्बुलेन्सका लागि करिब पचास लाख रुपैंया संकलन गरेका छन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले गत शनिबार फार्नबरोस्थित ओकफार्म कम्युनीटी स्कुलमा गरेको च्यारीटी कार्यक्रममा एम्बुलेन्स प्रोजेक्टका लागि करिब ५० लाख रकम संकलन भएको जानकारी दिइएको थियो । विशेष गरी म्याग्दीको विकासका लागि म्याग्देलीहरुले नै सहयोग गरेका थिए । म्याग्दी जिल्लाभरिबाट बेलायत आएका तिनसय भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा धेरै म्याग्दीबासीहरुले दिल खोलेर सहयोग गरे ।

मोनाका अध्यक्ष योगकुमार फगामीको सभापतित्वमा भएको च्यारीटी डिनर कार्यक्रमको उदघाटन बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै राजदूत चालिसेले जिल्लाका लागि म्याग्देलीहरुको अपार सहयोग रहेको बताए । जिल्लाका हरेक विकास निर्माणका क्रममा प्रवासी नेपालीहरुको सहयोग रहेको बताउंदै चालिसेले यस्तो मानविय र पवित्र कार्य गर्ने मोना युकेलाई धन्यवाद दिए ।

च्यारीटी डिनरको आकर्षक रहेका रसमोर बरो काउन्सीलका मेयर एलेक्स क्राउफोर्डले म्याग्देलीहरुको साहसमाथि इटा थपे । कार्यक्रममा बोल्दै क्राउफोर्डले भने “म तपाईहरुको खुशीमा मेरो खुशी साट्न चाहन्छु ।” आफु मेयर भएपछि रसमोर क्षेत्रका नेपालीहरुको सेवामा धेरै सक्रिए रहेको जनाएका क्राउफोर्डले कार्यक्रममा एम्बुलेन्स प्रोजेक्टका लागि करिब चालिस हजार नेपाली रुपैंया सहयोगको घोषणा गरे । अर्को बर्ष श्रीमती सहित नेपाल भ्रमण गर्ने सोच बनाएका उनले म्याग्दी गएर एम्बुलेन्स हेर्ने चाहना रहेको बताए । यो पवित्र कार्यमा सहयोग गर्न पाउंदा खुशी लागेको बताउंदै एलेक्सले गोर्खाली परिवारको सहयोगका लागि सरमोर क्षेत्रमा करीब एक करोड पचास लाख पाउण्ड विनियोजन गरिएको जानकारी दिए ।

एनआरएन युकेका अध्यक्ष कुल आचार्यले बिदेशी भूमिबाट स्वदेशको गुण तिर्ने प्रयासप्रति सह्राना व्यक्त गरे । आचार्यले यस्तो मानवीय काममा मनोबल बढाउन सबैसंग आग्रह गरे ।

एम्बुलेन्स प्रोजेक्टका लागि करिब पाचास हजार बढि सहयोग गर्ने नेपालीहरुलाई राजदूत डा. सुरेशचन्द्र चालीसे, एनआरएन युकेका अध्यक्ष कुल आचार्य, मेयर एलेक्स र अध्यक्ष फगामीले सम्मान गरेका थिए । दानबीर म्याग्देलीहरुको सहभागिता रहेको च्यारीटीमा करिब तिसभन्दा बढि व्यवसायी तथा गोर्खालीहरुले जनही एकलाख रुपैंया सहयोग गरेका थिए । म्याग्दीको विकासका लागि म्याग्देलीहरु नै भन्ने पवित्र भावना रहेका म्याग्दीवासीहरुले एकलाख पचास हजारसम्म सहयोग दिए ।

कार्यक्रम संयोजक एवं मोनाका सल्लहकार दुत पुनले म्याग्दी हामी सबैको भएकोले अझ धेरै सहयोग गर्ने चाहना रहेको बताए । धन, मन, साहस र रुप भएकालाई सहयोग गर्न आग्रह गर्दै उनले सहयोगीहरुप्रति आभार प्रकट गरे । मोनाका संरक्षक लिलामान शेरपुञ्जाले बेलायतमा रहेपनि म्याग्दीका हरेक गाविस स्मरणीय रहेको जनाए । उनले जिल्लाका गरिव जनतालाई राहात दिने चाहना छिट्टै पुरा हुन लागेको बताए ।

कार्यक्रममा उपाध्यक्ष कमल पुर्जाले एम्बुलेन्स प्रोजेक्ट राम्रोभए पनि धेरै कठिनाइ भएको बताए । नेपालीको नाताले नेपालीलाई सहयोग गर्नुपर्ने बताउंदै पुर्जाले नेपाल सरकारले पनि यसलाई साथ दिनुपर्ने आशय व्यक्त गरे ।

कार्यक्रममा मगर संघ युकेका अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापाले म्याग्दीबाट बेलायती सेनामा भर्खरै प्रमोशन पाएका तथा बहादुरी कमाएकाहरुलाई सम्मान गरेका थिए ।

सहयोगको एम्बुलेन्स एकचालिस गाविस रहेको म्याग्दीका दूर्गम गाउं दरबाङ र भुरुङ तातापानी गाविसमा रहने छ । एम्बुलेन्सको मर्मत संभारका लागि अक्षयकोष खडा गरिने मोनाले जनाएको छ । एम्बुलेन्सको अन्य जिम्मा भने रेडक्रसलाई दिने अध्यक्ष फगामीले जानकारी दिए ।

कार्यक्रममा संस्थापक संयोजक प्रवेश केसी, तेजप्रकाश पुन, निल पुन लगायतले मन्तव्य दिएका थिए । सचिव भिम पुनले कार्यक्रम अवधिभर स्टेज सम्हालेका थिए भने प्रियंका पुन, कुसुम फगामी तथा मिरा फगामी, तेज राम्जाली लगायतले उनलाई साथ दिए । कार्यक्रमको अन्त्यमा स्थानीय कलाकारहरुले नाच गान गरी रमाइलो गरेका थिए । ***

तपाईको प्रतिक्रिया