बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
युवकले युवती र युवतीले युवक पार्टनर खोज्ने मौका यही हो– धेरैले भ्यालेन्टाइन डेका सम्बन्धमा टिप्पणी गर्छन् । यसपाली नयां लेडिज पार्टनर खोज्ने मुडमा छु– दन्त चिकित्सा विज्ञानका विद्यार्थी विमल मगरले बताए । उनी अघिल्ला वर्षका भ्यालेन्टाइन डेमा साथीहरूसँग पार्टी जाने गरेका थिए । मोडल सेलिना राईले भ्यालेन्टाइन डेको स्वाद लिन थालेको सात वर्ष भैसकेको छ । विवाह अघि भर्जिनिटी तोडिनु हुँदैन भन्ने धारणाको सेलिना भन्छिन्– तर २१औं शताब्दीमा भर्जिनिटीको वास्ता हुंदैन, विवाह अघि नै तोडिनु यहाँ पनि विकसित देशमा जस्तै सामान्य भैसकेको छ । उनी यसपाली मन मिल्ने पुरुष र महिला साथीहरुसँग गु्रपमा भ्यालेन्टाइन–डे मनाउने मुडमा छिन् । युवतीले ब्वाइफ्रेण्ड र युवकले गर्लफ्रेण्ड खोज्ने, रोज्ने अनि भ्यालेन्टाइन डे मनाउने चलन शुरु भएको एक दशक नाघेको छैन । सङ्गीतको ताल, डिजेको मिक्सिङ, मोबाइल–म्यासेज र इन्टरनेटको संसारमा मस्त पुस्ता हिजोआज ब्याइफ्रेण्ड वा गर्लफ्रेण्ड छैन भन्दा गिल्ला उडाउँछन् । अहिले त कसले धेरैजना गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड बनाउने भन्ने होडबाजी नै चल्छ भन्दै विशाल भन्छन्– व्रिट्नी स्पेयर्सले जस्तो भर्जिन छु भनेर गर्व गर्ने जमाना बितिसक्यो । विवाह त बिस्तारै भैहाल्छ नि, तर सबै कुरा पहिल्यै अनुभव गर्न पाइयोस् । टिन–एजर्सहरू हिजोआज भर्जिनिटीको सम्बन्धमा खुलेर कुरा गर्न सक्ने भइसकेका छन् । भ्यालेन्टाइन डेमा देखिएका कुनै जोडी दम्पत्तिमा परिणत हुन्छन् तर कतिले माया–प्रीतिको अनुभव मात्र साट्छन् । भ्यालेन्टाइनमा प्रेमी–प्रेमिकालाई गुलाफ र ग्रिटिङ्ससहित उपहार दिनु सामान्य मानिन्छ । वनसाइडेड लभ गर्नेले प्रपोज गर्ने मौका पनि यही हो, नर्सिङको विद्यार्थी सुजाताले बताइन् । एकोहोरो प्रेम फलदायी नहुने तर्क गर्दै उनी भन्छिन्– प्रपोज गर्ने, मान्यो भने भ्यालेन्टाइन डे मनाउने होइन भने अर्कै खोज्नु पर्छ । दोस्रो गर्लफ्रण्डसँग चौथोपल्ट भ्यालेन्टाइन डे मनाइरहेका मदन भन्छन्– पहिले अर्कै अहिले अर्कैसँग रुटिन भने उही हो, मन्दिर दर्शन गर्ने, कफी खाने अनि भेडेटार गएर रमाइलो गर्ने ।
नेपाली शहरमा भित्रिएको छोटो समयमै लोकप्रिय बनेको भ्यालेन्टाइन डेले रौनक मात्र थपेको छैन । गिफ्ट हाउस, रेस्टुराँ, होटल र पार्ककोव्यापार पनि बढाएको छ । प्रेम कथामा आधारित चलचित्र र सङ्गीतको माग बढेको छ । युनिक म्युजिक सपका प्रोपाइटर सयोग पाख्रिन गत वर्षको भ्यालेन्टाइन डेमा कोरियाली प्रेमकथात्मक चलचित्र निकै चलेको बताउँछिन् । युगल जोडी डेटिङमा जान्छन्, म साथीहरूसँग समूहमा मनाउँछु । मिस फेवरी सरिना राईले बताइन् । एघार वर्ष अघि विवाहिक गायक सपन श्रेष्ठ भन्छन्– कन्सर्टमा गाउने अफर आइरहेको छ तर जाने नजाने निश्चित गरेको छैन । परिवार लिएर तथा साथीहरूसँग निर्वाणा कन्ट्री क्लवको गल्फ कोर्समा हुने डिजेयुक्त डान्सपार्टीमा नाच्दै भ्यालेन्टाइन डे मनाउने उनको योजना थियो । विशेष गरी भ्यालेन्टाइन डे कलेजका विद्यार्थी तथा टिन एजर्सहरूले मनाउँछन् तर, प्रेम साटासाट गर्ने दिन भएकाले युगल जोडी मात्र होइनन्, पाका व्यक्तिहरू पनि भ्यालेन्टाइन डेमा मस्त देखिन्छन् । मुख्यतः टिनएजर्सको त उत्सव नै हो भन्दै ३२ वर्षीय राज्य छेत्री भन्छिन्– लभ परे पनि हाम्रा पालामा भ्यालेन्टाइन डे मनाउने चलन थिए । गत वर्ष डिजे राजुको पार्टीमा डान्स गरेर भ्यालेन्टाइन डेको मनोरञ्जन लिएकी छेत्री यसपाली साथीभाइसँग घरमै मनाएकी छिन् । भ्यालेन्टाइन डे जसले जोसँग र जहाँ पनि मनाउँदा हुने धेरैको तर्क छ । मिस फेयरी सरिना भन्छिन्– भ्यालेन्टाइन डे माया साट्ने दिने हो, साथीहरू दिदी–बहिनी, परिवार, दाजुभाइ, जोसँग मनाउँदा पनि हुन्छ । आखिर यो माया गर्ने दिन न हो ।

तपाईको प्रतिक्रिया