बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

संविधानसभाको म्याद अन्तिम पटक भनेर छ महिना थप गरी आगामी जेठ १४ गते सम्म पुर्‍याईएको छ । संविधानसभाको निर्वाचनपछि आजसम्मको काम कार्बाहीलाई हेर्ने हो भने अरु छ महिनाभित्रै कसरी शान्ति प्रक्रिया टुंगिएर संविधानको घोषणा हुन सक्ला भन्ने आशंका हुनु अस्वभाविक छैन । त्यसकारण पनि मुलुकको राजनीतिक भविष्य कतातिर डोरिन्छ भन्ने कुरा आम चासोको विषय भएको छ ।

राज्यको पुनर्संरचनाबारेका बहसहरुले तीन वर्षको अन्तरालमा पनि कुनै ठोस गति र आकार लिएका छैनन् । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित गर्ने गन्तव्य निर्धारण भए पनि संघीयताको खाका कोर्ने काम बाँकी नै रहेको छ । राज्यको पुनर्संरचना के को आधारमा बनाउने भन्ने बारे मतैक्यतामा पुग्न प्रमुख राजनीतिक दलहरुले अझै रचनात्मक अभ्यास गरेको देखिँदैन । मुलुक संघीय गणतन्त्रको बाटोमा प्रवेश गरिसकेपछि जातीय–क्षेत्रीय पहिचानको आकांक्षा जुन रुपमा जागृत भएको छ र त्यसलाई भजाएर आफ्ना अभिष्टहरु पूरा गर्न दृश्य–अदृश्य जुन खेलहरु मुलुकभित्र र बाहिरबाट निर्देशित रुपमा खेलिएका छन् तिनले राष्ट्रको एकता र अखण्डतामाथि नै आँच पुग्ने आशंका पनि उत्तिकै छ । राज्य पुनर्संरचनाको खाका तयार गर्दा राष्ट्रको एकता र अखण्डताको रक्षाका कुरालाई गौण बनाउनु हुँदैन । यो विषय राजनीतिक दलहरुका स्वार्थसंग नभएर सिंगो मुलुकको भविष्यसँग जोडिएको छ । राज्यको पुनर्संरचना जस्तो अति संवेदनशील र गम्भीर विषयमा राजनीतिक दलहरुले यथासमयमा उचित ध्यान पुर्‍याउन नसकेकाले मुलुकका अरु विषयहरुले पनि निकास पाउन सकेका छैनन् । धेरै ढिलो गरी राज्य पुनर्संरचना आयोग बनाउने सहमतिमा पुगेका दलहरुले राष्ट्रिय एकता, अखण्डता र मुलुकको राजनीतिक भविष्यसंग गाँसिएको यो मुद्दालाई अत्यन्त सुझबुझ एवं बुद्धिमत्तापूर्ण ढंगले किनारा लगाउन आवश्यक छ ।

पछिल्लो समयमा सेनासमायोजन प्रक्रिया र संविधानसभाको म्याद थप लगायतका सवालमा वर्तमान सरकारको सक्रियता र पार्टीहरुबीचको सहमतिमा काम गर्ने संकेतले थोरै भए पनि आशा जगाएको छ । आगामी दुइमहिनाभित्र संविधानका विषयका विवादहरुको टुंगो लगाउने सहमति पनि भएको छ । राज्य पुनरसंरचना शासकीय स्वरुप र निर्वाचन प्रणाली बारे दलहरुबीच कुरा मिलेको छैन । अब दलहरुले विवादित विषयहरुलाई सक्दो छिटो टुङ्ग्याउनु जरुरी छ । त्यसो नहुँदासम्म नयाँ विषयले प्रवेश पाउन सक्दैन ।

यो बेला मुलुकको वर्तमान राजनीतिक वातावरण राष्ट्रिय एकता र अखण्डतालाई सर्वोपरी राखेर क्रियशिलता देखाउने बाटोतिर उन्मुख नभै निहित स्वार्थप्रेरित अनपेक्षित दिशातिर नलागोस् भन्ने देशभित्र र बाहिर बस्ने सबै नेपालीहरुको चाहना हो । राज्य रुपान्तरणको गहन दायित्व बिर्सेर प्रमुख राजनीतिक दलहरु सत्ता स्वार्थको अनपेक्षित खेलमा निरन्तर लागिपर्दा उत्पन्न भएका विकारहरुले मुलुकको सिंगो भविष्यमाथि नै खेलबाड गरिरहेको छ । अब यस्तो अवस्था नदोहोरियोस् भन्ने हाम्रो चाहना हो ।

तपाईको प्रतिक्रिया