बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024
काठमाडौं-  नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्ष्ट्रिय क्षेत्रका एघार जना प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन् ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको पूर्ण बैठकले सो निर्णय गरेको हो ।
नइ चन्द्रधन पुरस्कार धर्मसंस्कृतिको सम्वर्धन, संरक्षण र जागरणमा समर्पित जगदगुरू श्री बालसन्त मोहनशरणदेवाचार्यलाई समर्पण गर्ने निर्णय गरेको छ ।
त्यसै गरी नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति श्री गणेश रसिकलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
राजनीतिमा समर्पित भएर पनि कथा, उपन्यास, निबन्ध तथा कविताको स्तरीय सृजना गर्दै देशदेशान्तरमा नेपाली भाषाको गरिमा वढाएवापत श्री प्रदीप नेपाललाई नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
साथै श्रीमती अनीता तुलाधरलाई आधुनिक कथालेखनमा समर्पित रही नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाहका निम्ति नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा महत्त्वपूर्ण योगदान गरेवापत  डा. देवीप्रसाद सुवेदीलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ ।
श्री केशव आचार्यलाई नेपाली भाषासाहित्यको सृजना र सङ्गठनमा समर्पित भई गरिमाशाली योगदान पुर्याएवापत नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
गीतसङ्गीतमार्फ जनस्तरमा नेपाली भाषाको गरिमा बढाउनुका अतिरिक्त आधुनिक सङ्गीतको महिमा वृद्धि गराउनसमेतको योगदानका निम्ति भारत, दार्जिलिङका श्री चन्दन लोम्जेल र श्रीमती डेजी बराइलीलाई नइ कोइलीदेवी पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ ।
यसै गरी  मानव समुदायभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तार र सेवामा राष्ट्र र अन्तर्ष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत तेस्रो लिङ्गी श्री  पिङ्की गुरूङलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिने भएको छ ।
त्यसैगरी विदेशमा रहेर पनि नेपाली भाषासाहित्यमा समर्पित भई कृति निर्माणमा समेत योगदान गर्ने वेलायतका स्रष्टाद्वय श्री गोपीकृष्ण प्रर्साईको ‘रात ढलेको थिएन’ कवितासङ्ग्रह र श्रीमती जया राईको ‘बेकर स्टि्रटका दुई आँखा’ कथासङ्ग्रहलाई नइ गणेशदुर्गा पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।
नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष दस लाख रूपियाँ राशिको पच्चीसवटा पुरस्कार प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया