शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
टोपबहादुर रायमाझी स्थानीय विकास मन्त्री एवं माओवादी स्थायी समिति सदस्य हुन् । माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन सुरुदेखि नै पहल गर्नेमा उनी पनि थिए । सुरुमा केही राम्रा काम गरे पनि भट्टराई सरकार पछिल्ला केही काममा भने चुकेको छ । ४९ सदस्यीय मन्त्रिमण्डल गठन गरेर विरोध खेपेको भट्टराई सरकारबारे रायमाझीसँग गरिएको कुराकानी- 
जम्बो मन्त्रिमण्डल बनाएर कसरी भयो मितव्ययिता ?
– नेपाली जनता र राष्ट्रका लागि मुख्य कुरा मितव्ययिता भन्दा पनि शान्ति र संविधान हो । शान्ति र संविधानलाई केन्द्रविन्दुमा राखेर हामीले काम गर्नुपर्दछ ।
इतिहासकै ठूलो मन्त्रिमण्डल त भयो नि ?
– अब इतिहासकै ठूलो मन्त्रिमण्डल बन्ने कि नबन्नेभन्दा पनि शान्ति र संविधान नै मुख्य कुरा हो । राष्ट्रिय सहमति बनाएर मुलुकलाई निकास दिने नै ठूलो कुरा हो ।
त्यसो भए मुस्ताङ चढौं, विदेश जाँदा कम खर्च गरौं किन भन्ने ? 
– शान्ति र संविधानसँगै सुशासनको प्रत्याभूति दिन मितव्ययिताको कुरा पनि गर्नुपर्छ, राष्ट्रका अगाडि योजनाहरु छन् त्यसलाई प्रभावकारी कार्यान्वयन पनि गर्नुपर्छ तर त्यो पनि ठूलो कुरा राजनीतिक निकास हो त्यसका लागि राष्ट्रिय सहमति चाहिन्छ । त्यसका लागि केही न केही कम्प्रोमाइज गर्नुपर्ने बाध्यता छ ।
अरुलाई मिलाउनु त छँदैछ, तपाईंकै पार्टीका राज्यमन्त्री चाँही किन राख्या त ?
– अरु पार्टीले राज्यमन्त्री राख्ने माओवादीले नराख्ने भन्ने कुरा भएन । त्यहाँ पनि सन्तुलन राख्नुपर्‍यो । महिला, दलित, जनजाति, पिछडावर्ग मिलाउँदा अलिकति ठूलो भएको छ । तर योभन्दा पनि जनताले खोजेको निकास नै हो ।
विपक्षीलाई नै झस्काउने गरेर राष्ट्रिय सहमति बन्छ त ?
– यो सरकारको पक्षमा सहमति छ । नभए त राष्ट्रिय सहमति प्रक्रिया कसरी सुरु हुन्थ्यो त ?

तपाईको प्रतिक्रिया