शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
जापान- जापानको फुकुसिमा जिल्लाका दम्पतीहरू आफ्ना सन्तानलाई क्यान्सर रोगले छुने हो कि (?) भन्ने डरले यतिखेर निकै सताइएका छन् । त्यसैले उनीहरूले आफ्ना सन्तानको नियमित स्वास्थ्य परीक्षणका लागि जापान सरकारलाई समय-समयमा घच्घचाइरहेका छन् ।
गत मार्च महिनामा बिर्सिनै नसक्नेगरी गएको महाभूकम्पको ६ महिनापछि जनजीवन सामान्यतर्फ उन्मुख भइरहँदा यी दम्पतीको दिमागमा भने नजानिदो ढङ्गले भयानक रोगको आशङ्काले डेरा जमाएको छ । विश्लेषकहरू भन्छन्- भूकम्पले पारेका घाउहरू ओभाउँदै जाँदा सोही भूकम्पजत्तिकै डरले जापानी नागरिकलाई सताइरहेको छ ।
फुकुसिमा जिल्ला निवासी ४० वर्षीय नाकाजोनो भन्छिन्- मलाई त डर लागिरहेको छ, हाम्रा सन्तानमा पनि थाइराइड समस्या निस्किएला कि भनेर । तर चिकित्सक र आणविक विषेशज्ञहरूले हालैका केही दिनयता थालेको परीक्षण र यसबाट कुनै संक्रमण नपाइएको भन्ने समाचारबाट भने अहिले केही ढुक्क भएकी छु – उनको भनाई छ ।
जापानी इतिहासकै यो शक्तिशाली सुनामीले दिएको भौतिक क्षतिको पुनर्निर्माणको काम निकै द्रुत गतिमा जारी रहँदा संभावित मानवीय क्षतिको आशङ्काले विषेशगरी फुकुसिमाका बाबुआमालाई निकै पिरोलेको छ । सुनामीपछि पनि अर्का मानसिक त्रासमा उनीहरू देखिन्छन् ।
गएको मार्च महिनाको ११ तारिखमा जापानको उत्तरपूर्वी समुद्रीतटमा आएको भूकम्प र त्यसलगत्तैको शक्तिशाली सुनामीका कारण फुकुसिमा जिल्लाको आणविक भट्टी फुटेकोले सो भट्टीबाट निस्किएको विकिरणको आशङ्काले त्यहाँका नागरिकमा त्रास थपिदिएको हो ।
सो जिल्लामा रहेको फुकुसिमा दाइची आणविक केन्द्रमा क्षति पुगेपछि त्यसबाट निस्किएका रेडियोधर्मी विकिरणका असरका डरमा उनीहरू रहेका छन् । यी विकिरण चुहावटको समाचारले त्यहाँबाट उनीहरूलाई अन्यत्रै सारिएको भएपनि यसको पहिलो र प्रत्यक्ष प्रभाव बालबालिकामा पर्ने भएकोले उनीहरू अहिलेपनि यसबाट बढी चिन्तित देखिन्छन् ।
फ्रान्सेली समाचार समिति एएफपी लेख्छ- फुकुसिमा जिल्लाका जापानी चिकित्सकहरू गत अक्टोवर महिनाको ९ तारिखमा त्यहाँका बालबालिकाको स्वास्थ्य जाँचका लागि निकै नै व्यस्त देखिन्थे । किनभने उनीहरूले जतिसक्यो चाँडै सो जिल्लाका साढे तीनलाख भन्दा बढी बालबालिकाको स्वास्थ्य जाँच गर्नुपर्ने छ ।
आणविक भट्टीबाट निस्किने रेडियोधर्मी विकिरणको प्रभाव विषेशगरी बालबालिकामा पर्ने र यसले उनीहरूको थाइराइड ग्रन्थीमा गडबडी उत्पन्न गर्नसक्ने भएकोले चिकित्सकहरूले सो जिल्लाका १८ वर्षभन्दा कम उमेरका युवायुवतीलाई फुकुसिमाको एक स्थानीय चिकित्सा विश्वविद्यालयमा स्वास्थ्य परीक्षण थालेका छन् ।
स्वास्थ्य परीक्षणमा संलग्न एकजना चिकित्सक सिनिची सुजुकी भन्छन् – यो विकिरणका कारण बालबालिकाको थाइराइडमा क्यान्सरको खतरा हुन्छ र यसको परीक्षण जटिल र निकै लामो समय लाग्ने हुन्छ । ती युवायुवतीको हाल स्वास्थ्य परीक्षण गरिएपनि उनीहरूमा क्यान्सरको खतराको बारेमा यथार्थ पत्तालगाउन वषौर्ं समय लाग्ने पनि उनको अनुभव छ ।
मार्चमा करिब नौ रेक्टर स्केलको भूकम्प आएको र यसका कारण तत्कालै उत्तरपूर्वी समुन्द्रमा सुनामी आएकोले सोको भयानक कम्पनले उक्त भट्टी नै फुटेको थियो । भट्टीका ६ वटा प्लान्टमध्ये तीनवटाबाट पूर्णरूपमा नै विकिरण चुहिएका थिए । सो विकिरण चुहिनबाट रोक्न जापान सरकारले निकै ठूलो प्रयास गरेपनि संभव भएन । पछि सरकारले त्यहाँका हजारौं नागरिकलाई अन्यत्रै सारेको थियो ।
हालैको एक अनुसन्धानले सो क्षेत्रबाट अन्यत्रै सारिएका बालबालिकामा हरेक एक सय तीसजनामध्ये दसजनामा थाइराइडको समस्या देखापरेको पाइएकाले तीनका आमाबुबाले आफ्ना सन्तानको स्वास्थ्य परीक्षणका लागि सरकारसँग माग गरेका थिए । चिकित्सक सुजुकी भन्छन्- यस क्षेत्रका दम्पतीको विषेश अनुरोधमा सरकारले यो कार्यक्रमको सुरुवात गरेको हो ।
उनका अनुसार हरेक दुई वर्षमा सरकारी योजनाअनुरूप नै सो क्षेत्रका बालबालिका १८ वर्ष नपुग्दासम्म यसरी स्वास्थ्य परीक्षण गरिनेछ । उनका अनुसार सुरुमा सो आणविक केन्द्रनजिकका पाँच हजारजनाको स्वास्थ्य परीक्षण गरिनेछ र त्यसपछि सो केन्द्रनजिकका दुई सहरका तीन लाख ६० हजारजना बालबालिकाको स्वास्थ्य परीक्षण गरिने छ । ती बालबालिका १८ वर्ष नपुग्दासम्म सुरुमा हरेक दुई वर्षमा र पछि पाँच वर्षमा उनीहरूको जाँच हुनेछ ।
यो विकिरणको असरबाट घाँटीको क्यान्सरका साथै थाइराइडसम्बन्धी विभिन्न समस्या हुने गर्दछन् । यो विकिरण समुन्द्रमा नै पुगेको भन्दै पानी, गाईगोरुको मासु, तरकारी, चिया एवम् समुद्री खानामा नै प्रभाव परेको अनुसन्धान उतिखेरै जापानले गरेको थियो । त्यसैले यी खानाको पनि त्यतिखेर प्रयोग एवम् निर्यातमा नै रोक लगाएको थियो ।
यो आणविक दुर्घटना सन् १९८६ मा युक्रेनको चेर्नोबिलमा भएको ठूलो आणविक दुर्घटनापछिको खतरनाक मानिन्छ । सन् १९८६ को अपि्रल २६ मा आणविक केन्द्रको ‘सिस्टम टेष्ट’ गर्ने क्रममा सो आणविक भट्टी फुट्दा निकै खतरनाक रेडियोधर्मी विकिरण चुहिएको थियो ।
यद्यपि सो चुहावटको तथ्य र त्यसबाट भएको मानवीय क्षतिको यथार्थ विवरण भने यतिका वर्षसम्म पनि यकिनभएको छैन । सो आणविक दुर्घटनाबाट कम्तीमा पनि एकलाख नागरिकको ज्यान गएको तथा कतिपय प्रतिवेदनले केही हजारको मृत्युभएको उल्लेख गरेको समाचार सार्वजनिक भएका छन् ।
जे होस् सो दुर्घटनाका कारण बेलारुस, युक्रेन, रुस र केही युरोपेली देशहरूमा पनि लाखौं नागरिकलाई प्रभावित बनाएको र अरबौँ डलरको क्षति पुर्‍याएको पाइन्छ । सो दुर्घटनापछि गरिएका अनुसन्धानहरूले हजारौं नागरिकलाई क्यान्सर रोग लागेका तथ्य पनि बाहिर आएका थिए ।
तर यस्तो खतरनाक अवस्था अहिलेको भने नभएको चिकित्सकहरूको भनाई छ । जापानी चिकित्सक एवम् अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका विज्ञहरूले पनि फुकुसिमा आणविक केन्द्र दुर्घटनाका कारण अहिलेसम्म त्यस्तो गम्भीर प्रकृतिको मानवीय असरको अवस्था नपाइएको बताएका छन् ।
सो एजेन्सीका विशेषज्ञ भन्छन्- यो अनुसन्धानको निकै नै जटिल विषय हो र यसका लागि निकै धेरै समय लाग्दछ । तर हालैका यी प्रारम्भिक परीक्षणबाट त्यस्तो कुनैपनि खतरानाक सङ्ंकेत मिलेका छैन ।
जापानले आफूहरूलाई आवश्यक र महत्वपूर्ण सूचना उपलब्ध गराएकाले अनुसन्धानमा सजिलो भएको उनको भनाई छ । उनका अनुसार यो अनुसन्धानलाई बर्सेनि नियमित गर्नुपर्छ र संभावित आशङ्कालाई कमगर्दै लैजानुपर्दछ ।
जापान सरकारले सो केन्द्रको २० किलोमिटरपर मात्र बस्ती बस्न दिएको छ । अहिले पनि सो क्षेत्रमा निकै सतर्कता अपनाइएको छ । आणविक भट्टी दुर्घटना हुँदा पहिला प्रभाव परेका नजिकको बस्तीका नागरिकलाई स्वास्थ्य परीक्षणका लागि प्रथमिकतामा राखिएको छ ।
सो सुनामीबाट कम्तीमा पनि २० हजार जापानीले ज्यान गुमाएका वा हराएका छन् । जापान सरकारले निकालेको तथ्याङ्क अनुसार पनि १६९ खर्ब यनको भौतिक क्षति भएको छ । सो सुनामीबाट मरेका नागरिकको सङ्ंख्या करिब १६ हजार छ भने चार हजार जति हराइरहेका र ६ हजार घाइते छन् ।
नेपालको प्रमुख दाताराष्ट्र रहेको जापानको क्षेत्रफल तीन लाख ७८ हजार वर्ग किलोमिटर रहेको छ ।  जापानको जनसङ्ख्या १२ करोड ७७ लाख छ । ६० प्रतिशतभन्दा बढी नागरिक सहरमा बसोवास गर्ने जापान विश्वको विज्ञान प्रविधिको विकासमा अब्बल दर्जामा रहेको एक आर्थिक शक्तिसम्पन्न राष्ट्र हो ।

तपाईको प्रतिक्रिया