शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

संयोगवस गत मे २ देखि १७ सम्म आफ्नै जन्मभूमि नेपालमा ब्रुनाईबाट पर्यटकको रुपमा लुक्ला हुँदै सगरमाथा वेस क्याम्प र कालापत्थरसम्म पुग्ने अवसर पाएको थिएँ । लुक्ला, फाकदिन, जोरसाल, नाम्चे, ट्याङबोचे, फेरिचे, थक्ला, लबुचे, गोरक सेप हुँदै वेसक्याम र ५ हजार ५ सय ४५ मिटर उचाईको कालापत्थर पुग्न सकिन्छ । उचाईको हिसावले वेसक्याम भन्दा कालापत्थर १ सय ८१ मिटर अग्लो भएकोले यसको महत्व बेग्लै छ । सामान्य ट्रेकिङ टुरिष्टहरु त्यहिँसम्म पुग्ने गर्दछन् । सगरमाथाको शिखरमा चढ्नको लागि भने प्रावधान र ब्यवस्थापन बेग्लै छ ।

संसारको सबैभन्दा उच्चस्थान सगरमाथा चढ्न र त्यसको फेदीसम्म ट्रेकिङ जानेहरुले प्रायः शतप्रतिशतले नै लुक्ला हवाई मार्ग प्रयोग गर्नु पर्ने बाध्यता छ । संसारको सबैभन्दा जोखिमपूर्ण एयरपोर्ट लुक्ला अवतरण गर्नु अगावै देखिने दृष्यहरु अत्यन्तै सुन्दर छन् । संसारमा सायदै यस्तो दृष्य देख्न पाइन्छ । आफ्नै देशमा यति सुन्दर ठाँउहरु देखेर खुसीले मेरो आँखा टिल्पिलायो । विहान साढे ७ बजे आकास खुलेको थियो । घामका किरणहरुले लुक्लालाई छुदै थियो । हामी लुक्लामा उत्रियौ र नाम्चेतर्फ बाटो लाग्यौ । पर्यटकहरुको बाक्लो उपस्थिति र बाटोको दायाँबायाँ देखिने सुन्दर सफा दृष्यहरुले नेपाल होइन कि जस्तो भान हुन्थ्यो । विकसित युरोप, वाल्कन मुलुक झैँ लाग्थ्यो । कतैकतै भारतको उत्तरखण्ड राज्यको पिन्दारी ग्लेसियर झै देखिन्थ्यो । म यतिसम्म भन्न सक्छु सगरमाथा इलाकाका ग्लेसियर नपुगेकाहरुले हाम्रो देशमा यति सुन्दर ठाँउहरु छन् भनेर कल्पना समेत गरेका हुँदैनन् ।

बाटोमा भेटिने ठूल्ठूला ढुङ्गाहरुमा कुदिएका बुद्ध मन्त्रहरु अति रोचक देखिन्थे, बाटोको छेउमा भेटिने टिमुर, तितेपाती लगायतका नयाँ पालुवा, जंगलैभरी उन्माद फूलेका गुराँसहरु, विभिन्न प्रकारका चराचुरुङ्गीहरु, स्याउका फूलहरु, उब्जाउशील पाखा कान्लाहरुमा हलहल हूर्किएका सागसब्जीहरु, स्थानीयवासीहरुको बोलाइमा आफन्तपन, आखै भरीको सफा र स्वच्छ हिमाल, याक, खच्चरहरुको लर्को, भरियाहरुका आनन्दको दुःख, थाप्लोको नाम्लोसँगै दोहरी र मायाप्रितिका गीतहरु मोवाइलको सेटबाट कानकानमा गुन्जिएको पाउदा म खुसिले भुतुक्कै भएँ । मोबाइल आविष्कार गर्ने, सस्तो मोवाइल बनाउने र मोवाइल नेटवर्क विस्तार गर्ने सबैलाई धन्यवाद दिएँ । लामो बाटोमा साथिहरुसँग जनजीवनमा मोबाइलले पारेको प्रभाव सम्बन्धमा छलफल पनि भयो । आधुनिक र शहरीयाहरुको समृद्ध जीवनभन्दा भरियाहरुको सिधा, निस्कलङ्क र आनन्दको जिन्दगी देखेर मलाई ईर्श्या लाग्यो । हामी उकालो र जंगल जंगल हिड्थ्यौ तर प्रत्येक बिसाउनीमा फूटबल, टेनिस, गल्फ आदी खेलको रिजल्ट मोवाइलमा हेथ्यौ । स्काइपीबाट घरमा सम्पर्क गथ्यौ । हामी ७ जना नेपाली थियौ र ५ जना विदेशी जो हामी संगै काम गर्छौ थिए । उनीहरु त्यो दुर्गम ठाँउमा ती सुविधा देखेर चकित भएँ । हामी सँधै तिनै विदेशी सहकर्मी साथिहरु थियौ, त्यसैले हामीलाई धेरैले गाइड भन्थे, धेरै ठाँउमा हामीलाई गाइड भनेर डिस्काउन्ट पनि दिए । नेपालीहरु टुरिष्ट अर्थात आन्तरिक टुरिष्ट हुन सक्छन भन्ने बारे साधारणलाई ख्याल सम्म भएको पाइएन ।

काठमाडौंबाट लुक्ला प्रस्थानपूर्व कति खर्च बोक्ने भन्ने सम्बन्धमा राम्रो जानकारी नभएको र एक लिटर उम्लिएको पानीलाई रु ३ सय तिर्नुपर्ने, नुहाउने पानीको लागि पनि रु ५ सयसम्म तिर्नुपर्ने अवस्थाले भने हामी तर्सियौ । नाम्चे बजारमा विभिन्न स्तरीय लुगाकपडाहरु पाउनु, नाम्चेका पप, रेष्टुरेन्टहरु यूरोप स्टाइलको पाउँदा भने गजबै लाग्यो । नाम्चे नजिकैको बस्ति खुम्जुङ र खुम्दे भ्यालीको दृष्य अविश्मरणीय रह्यो । पुमरी हिमाल, आमा डब्लन, तुत्से र सगरमाथाको सुन्दरता बर्णन गरि नसक्नुको थियो ।

एउटा रोचक प्रसंग – नाम्चेदेखि झण्डै ३ किलोमिटर उकालो बाटोमा एकजना ७१ बर्षिय पासाङ शेर्पा विगत ५१ बर्षदेखि सगरमाथा जाने बाटो बनाई रहेका छन् । उमेर छँदा आफै बाटो खन्ने तर पाको भएपछि बाटोमा चन्दाको बाकस राखेर बस्छन् र पर्यटकले दिएको दुईचार पैसा भेला गरेर अरुलाई बाटो खनाउँछन् । उनले खनेका बाटो कतिपय ठाँउमा भत्किसकेका छन् यद्यपी उनीले त्यो कामलाई निरन्तरता दिएका छन् । उनको त्यो कामबाट पनि हामीले पाठ सिक्न सक्छौ ।

हामी वेसक्यामबाट फर्किएर नाम्चे आइपुग्यौ र हाम्रो यात्रामा केके देख्यौ, कस्तो लाग्यो ? यस क्षेत्रको राम्रो पक्ष केके हुन ? नराम्रो पक्ष केके हुन र सुधार गर्नुपर्ने कुराहरु के के हुन बुंदागत रुपमा टिपे र साथीहरुसँग पनि छलफल गरे ।

बाटोको ठाँउठाँउमा सफा पिउने पानीको ब्यवस्था गर्नुपर्ने । विभिन्न ठाँउहरुमा हेल्थ क्लिनिक राख्नुपर्ने । बाटोको ठाँउठाँउमा मौसम सूचना राख्नुपर्ने । थोक तथा सामानको मूल्य सुपथ र एकरुपता हुनुपर्ने । फेरिचेमा सधै कम्तिमा एउटा इमर्जेन्सी उद्धारको लागि हेलिकप्टर राखिनु पर्ने । फेरिचे वा खुम्जुङसम्म गाडीको बाटो अविलम्ब बनाउनुपर्ने साथै लामो ट्रेकिङको बाटोलाई पनि यथावत राख्नुपर्ने । स्याङबोचे विमानस्थललाई अझ सुधार र प्रयोग गर्नुपर्ने । खुम्जुङ र फेरिचेमा पनि एयरपोर्ट बनाउँदा उत्तम हुने । हिमालको आरोहण अत्यन्तै गाह्रो कार्य भएकोले सगरमाथा राष्ट्रिय निकुन्ज प्रवेशद्धारमा सबै धर्मका एकै आकारका मन्दिरहरु निर्माण गर्ने जसले गर्दा आ–आफ्नो विश्वासका भगवानलाई शक्ति मागेर आरोहण गर्न जान पाउनेछन्, त्यसले पर्यटकलाई झनै लोभ्याउने छन् । गाइड तथा भरियाहरुलाई अझ सक्षम र ब्यवस्थित गरिनु पर्ने । सगरमाथा वेसक्याम र कालापत्थरको चुचुरोमा ठाँउको नाम र उचाई समेत उल्लेख गरेर फोटो खिच्ने ठाँउ बनाई दिने, किन की त्यहा जाँदा कहाँ गइएको हो कुनै जानकारी छैन् र महशुस नै हुँदैन । अन्य मुलुकहरुमा त्यस्ता महत्वपूर्ण स्थानमा साइनबोर्ड वा जानकारी राखिएको हुन्छ । कालापत्थरको चुचुरो अति नै खतरनाक भएकोले पर्यटकलाई चढ्न नदिने तर त्यहाबाट सगरमाथा र सगरमाथा चढ्दै गरेकाहरुलाई मज्जाले देखिने भएकोले कलापत्थरमा दुरवीनको ब्यवस्था गर्ने । बाटोहरु अझ फराकिलो बनाउने र अप्ठेरा ठाँउहरुमा छेकबार लगाउने साथै खच्चर, घोडा, चौरीहरुको दिसाले बाटोमा दुर्घन्ध भइरहेकोले ब्यवस्थित तरिकाले सफा गर्ने । झण्डै ४ हजारको उचाइमा रहेको पानबोचेको खोला पारीको भिरालो भूभागलाई हिउँमा खेलिने स्की खेलको लागि अध्ययन गर्ने ।

अप्ठ्यारो भएकोले नै चुनौतीपूर्ण छ, चुनौतीपूर्ण भएकोले नै त्यहा पुग्नुलाई गौरवपूर्ण कार्य मानिन्छ त्यसैले सबैको सपना र आकर्षण रहेको हुन्छ । सगरमाथाको वेसक्यामसम्म गाडी बाटो लैजाँदा प्रदुषणको कारणले असर रहन सक्दछ यद्यपी चीनले उसको पाटोबाट नजिकै बाटो पुर्याएको छ । गाडीको बाटो नपुर्याउदा बर्षमा २ लाख पर्यटक आउछन् भने गाडीको बाटो पुर्याउदा १० लाख आउन सक्दछ भन्ने कुरालाई हामीले बिर्सन हुन्न किन कि जति सुविधा र छिटो हुन्छ त्यति नै धेरै पर्यटकहरु आउँछन् । यदि अहिले त्यो बाटो भईदिएको भए हालै समाचारमा आएको जस्तो पर्यटकहरुको विजोग हुने थिएन । वास्तवमा हामीले उनीहरुलाई मौसमको कारण देखाउँदै जर्बरजस्त लुट गरिरहेका छौ । त्यसैले परिवर्तनकामी सरकारले अविलम्ब गाडीको बाटो आवश्यक ठाँउसम्म लैजानु पर्दछ ।

लुक्ला एयरपोर्ट विश्वकै जोखिमपूर्ण मात्र होइन एकदमै अनुपयुक्त ठाँउको एयरपोर्ट भन्दा गलत हुँदैन । लुक्ला एयरपोर्ट मौसम खुलेको बेलामात्र संचालन हुने र नाम्चे शिरमा रहेको श्याङबोचे एयरपोर्ट पनि मौसम राम्रो भएको बेला संचालन हुने भएकोले उस्ताउस्तै हो अझ श्याङबोचेको ठाँउ खुल्ला र फराकिलो साथै कम जोखिमपूर्ण छ । सुन्नमा आए अनुसार केही राजनैतिक पहुँचवालाहरुले जब्बरजस्ती लुक्ला एयरपोर्ट निर्माण गरि संचालनमा ल्याएको र त्यसलाई अन्यत्र सार्न नदिइएको हो । लुक्ला हुँदै नाम्चेसम्म जाने बाटोहरुमा राम्रै पूर्वाधार तयार भएको छ यद्यपी हामीले एकदुई सय ब्यक्तिहरुको फाइदा होइन, सिंगो मुलुकको इज्जत र फाइदालाई हेर्नुपर्दछ, आधुनिक विश्वलाई पछ्याउनु पर्दछ त्यसैले जस्तोसुकै समस्याको बाबजुद पनि सुधार र परिवर्तन गर्नै पर्दछ र तत्कालै चाहिँ न्यूनतम गाडीबाटो नाम्चे वा खुम्जुङसम्म पुर्याउनु पर्दछ । त्यस्तैगरि श्याङबोचे एयरपोर्टलाई थप सुधार गरी नियमित संचालनमा ल्याउनु पर्दछ ।

हामीलाई अवगत हुनुपर्दछ कि समयमै काठमाडौं फर्कन नसकेका कारण कति पर्यटकहरुको काठमाडौदेखि आफ्नो देश फर्कने फ्लाइट छुटेका होलान । समयमै आफ्नो काम, कार्यालयमा नपुग्दा कतिको ब्यापार चौपट भएका होलान् ? कतिले जागिर गुमाउँदै होलान् । कति महत्वपूर्ण परिक्षाबाट बञ्चित हुँदै होलान् । बेखर्ची भएर कतिलाई लुक्ला रहन गाह्रो भएको होला । उनीहरुमा नेपालप्रति कस्तो अनुभूति भइरहेको होला ? यसको जिम्मेवार सरकार हुने कि नहुने ? किन कि लुक्ला नजिकको गाँउमा गाडी बाटो पुगिसकेकोले सरकारले चाहेमा केही महिनाभित्रै नै गाडी बाटो लुक्ला मात्र होइन नाम्चे नै पुर्‍याउन सक्दछ किन त्यो काम सरकारले गर्दैन ? भारी बोक्ने ५ सय श्रमजीवि र २ सय बाटोका ब्यापारी घरानाको ख्याल राख्नेहरुले हजारौ विदेशी पर्यटकहरुको बारेमा ख्याल राख्न पर्छ कि पर्दैन ?

लुक्लामा पर्यटकहरुको विजोग भन्ने समाचारले मेरो मन भतभत पोलिरहेको छ । पर्यटक भन्नाले बाहिर देशका पाहुनाहरु, बाहिर देशकाहरु आ-आफ्नो काममा असाध्यै ब्यस्त हुन्छन् । कामको बोझबाट थाकेकाहरु केही समय मिलाएर आराम गर्न, मनोरन्जन लिन नेपालको विभिन्न ठाँउहरुमा घुम्न आएका हुन्छन् । उनीहरुको लागि एक मिनेट समय पनि महत्वपूर्ण हुन्छ तर उनीहरुलाई नै खराब मौषमको कारण हप्तौ लुक्लामै रोकेर राख्नु के जायज होला ?

वास्तवमा हामीले पर्यटकहरुलाई स्वागत र सुविधा दिनुपर्नेमा मौसम खराब भयो भन्ने निहूँमा लुट गरिरहेका छौ । आम पर्यटकहरुको जीवन माथि खेलबाड गरिरहेका छौ । अब लुक्लाका सबै भरियाहरु ड्राइभर बन्नुपर्दछ । हजारौ पर्यटकहरु मात्र होइन दश लाखौ पर्यटक आउनु पर्दछ र सर्वसुलभ गाडिमा वेसक्यामसम्म पुग्नुपर्दछ । देशले जर्बरजस्ती लुटेर होइन, पर्यटकको मन, मुटु जितेर अरबौ पैसा कमाउनु पर्दछ र देशलाई समुन्नत बनाउन सक्नुपर्दछ ।

biswasdip@ymail.com

तपाईको प्रतिक्रिया