शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापान कृषि संस्थानले दिएको जानकारीअनुसार यस बर्ष बजारमा आउने नयाँ चामलको मुल्यमा १० देखि २० प्रतिशतले बृद्धि हुने भएको छ । यसरी चामलको मुल्यमा बृद्धि हुनुको प्रमुख कारण चामलका थोक बिक्रेताहरुले सकेसम्म बिकिरण मुक्त चामल बजारमा ल्याउन खोज्नुरहेको बताईएको छ । जापान कृषि संस्थान र थोक बिक्रेताहरुबीच सेप्टेम्बर २६ देखि अक्टोबर २ तारिखको बिचमा भएको सम्झौताअनुसार सबैभन्दा बढी मुल्य बृद्धि यामागाता केनको हायनुकी र सिगा केनको किनुहिकारी ब्राण्डका चामलमा भएको बुझिएको छ । जसको मुल्य पहिलेको तुलनामा २१ प्रतिशतले बढेको जनाइएको छ । ती ब्राण्डका चामलहरुको मुल्य क्रमश ६० किलोग्रामको १४ हजार ५०० येन र १४ हजार ८०० येन रहने थाहा भएको छ ।

त्यसैगरी, प्रसिद्ध ब्राण्ड निगाताकेनमा उत्पादित उओनुमा कोसिहिकारी ब्राण्डको चामलको मुल्यमा भने ५ प्रतिशतले बृद्धि भई प्रति ६० किलोग्रामको २२ हजार येन पुग्ने भएको छ । यी बाहेकका अन्य ब्राण्डका चामलहरुमा पनि १० देखि २० प्रतिशतसम्म मुल्य बृद्धि हुने कुरा जापान कृषि संस्थानले जनाएको छ । जापानमा हुने चामलको कारोबारमा ६० प्रतिशत भन्दा बढिमा जापान कृषि संस्थानको संलग्नता हुने गरेको पाईन्छ ।

टोकियोस्थित एक सुपरमार्केटका अधिकारीका अनुसार चामलमा हुने मुल्य बृद्धिले चामलको लागि आवश्यक पर्ने गोदामको खर्चमा पनि प्रभाव पार्नेछ । साथै चामलको खुद्रा मुल्यमा गत बर्षको तुलनामा प्रति ५ किलोग्राम २०० येनले बढ्ने छ । फुकुसिमाको चामलमा सरकारले तोकेको बिकिरण स्तरकै अधिकतम मात्रामा बिकिरणयुक्त पदार्थ मापन भएपछि चामलको मुल्यमा यस्तो किसिमको परिवर्तन आएको जानकारहरु बताउँछन् । अन्य स्थानमा गरिने बिकिरणको मात्राको मापन र त्यसबाट निस्कने परिणामले आगामी दिनमा पनि चामलको मुल्यमा परिवर्तन हुन सक्ने बताइएको छ । जापानको कृषि मन्त्रालयकाअनुसार धान अथवा चामलको उत्पादन भने यस बर्ष पनि गत बर्षकै बराबर भएको छ ।

तपाईको प्रतिक्रिया