शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो । नेपालीहरुको महान पर्व दशैं र दशैंको मौका पारेर हरेक बर्ष हुने एनआरएनको ग्लोबल सम्मेलनका लागि बिदेशबाट नेपालीहरु स्वदेश फ़र्कने क्रम जारी छ । यसैगरी एनआरएन आईसीसीको बिभिन्न पदका लागि बिभिन्न देशबाट उम्मेदवारीको घोषणा गर्ने क्रम पनि जारी छ ।

यतिखेर उपयुक्त अवसर जुरेको छ, प्रवासी नेपालीहरुलाई । परिवारजनसँगै दशैं मनाउन पाईने र सोही बहानामा एनआरएन ग्लोबल सम्मेलनमा पनि भाग लिन पाईने भएकोले धेरै नेपालीहरु अहिले कुम्लोकाम्लो तयार गर्दै स्वदेश फ़र्कने क्रममा छन् भने कतिपय नेपाल पुगिसकेका छन् । दशैंले प्रवासीहरुलाई मुलुकतिर आकर्षित गर्ने भएकैले एनआरएन अभियान्ताहरुले यहि अवसरमा सम्मेलन गर्ने गरेका हुन् ।

दशैंलाई लक्षित गर्दै एनआरएन सम्मेलनमा पनि सहभागी बन्न चाहनेहरु वा सम्मेलनलाई लक्षित गर्दै दशैं पनि मनाउन चाहनेहरु दुबै खालका प्रबासीहरु अहिले काठमाडौंमा भेला भईरहेका छन् र हुने क्रम जारी छ । बिशेषगरी जापानका बिभिन्न संघसंस्था वा जिम्मेवारीमा रहेका, एनआरएन अभियानमा तीब्र चासो र चिन्ता राख्नेहरु धमाधम स्वदेश फ़र्कनेक्रम जारी छ । रोजगारी, ब्यवसाय, अध्ययन र अनुसन्धानका लागि जापानमा रहेकाहरु पनि बिदा मनाउन दशैंको बेला नै उनीहरुको रोजाईमा पर्ने हुँदा यतिखेर स्वदेश फ़र्कनेहरुको संख्या अझ बढ्न गएको हो ।

“२ बर्ष भयो नेपाल गईएको छैन, यसपाली जाँदै छु, दशैंतिहार पनि मानेर, ग्लोबल सम्मेलन पनि हेरेर फ़र्कनु पर्ला” रेष्टुरेन्ट ब्यवसायी नेत्र बिष्टले समुद्रपारिसंग भने । “दशैंमा घर जानकै लागि बिदा सञ्चय गरेर राखेको थिए, सपरिवार दशैं मनाउने र सम्मेलनमा पनि भाग लिने बिचार गरेको छु” एक जापानी कम्पनीमा कार्यरत पोखरेली युवा शिव पौडेलले भने । यसैगरी एनआरएन एनसीसी, आईसीसीका बिभिन्न जिम्मेवारीमा रहेकाहरु पनि अहिले धमाधम नेपालतिर उड्ने तरखरमा छन् भने अन्य ब्यवसायी, सर्बसाधारण र समाजका बिभिन्न क्षेत्रमा आबद्ध नेपालीहरु पनि धेरैको नेपाल जाने योजना रहेको छ र कतिपय नेपाल पुगिसकेका छन् । यो बर्ष बिभिन्न कारणले अनुकुल परेकोले जापान जस्तै बिभिन्न मुलुकबाट नेपाल फ़र्कने नेपालीहरु अन्य बर्षको तुलनामा अधिक रहेको पाईएको छ ।

अर्कोतिर, बिदेशमा बसेका नेपालीहरुको बिश्वब्यापी साझा संगठन भनिने एनआरएनको हरेक बर्ष राजधानी काठमाडौंमा हुने ग्लोबल सम्मेलन नजिकिदैं गर्दा बिभिन्न पदहरुमा उम्मेदवारी दिने क्रममा पनि तीब्रता आएको छ । हरेक बर्ष दशैंसँगै हुने ग्लोबल सम्मेलनमा भन्दा यो बर्षको रौनकतामा फरक देखिएको छ । यस बर्षको सम्मेलनले नेतृत्वको चयन गर्ने प्रमुख अभिभारा आफ्नो ठाउँमा भएपनि प्रवासी नेपालीका समस्या र भावनालाई सम्बोधन गर्दै मुलुक निर्माण गर्ने महायज्ञमा होमिएको एनआरएनप्रतिको आकर्षण बढाउन ठोस नीति तथा कार्यक्रम तय गरिनुपर्ने सम्मेलनको अर्को जिम्मेवारी रहेको छ । करोडौंको बजेट खर्च गरेर सम्पन्न गरिने सम्मेलनले २ बर्षको लागि एक थान कार्यसमिति घोषणा गर्नुमा मात्र सम्मेलन सीमित हुनुहुँदैन भन्ने एनआरएनका शुभचिन्तकहरुको भनाई छ । बिश्वको ५६ मुलुकमा बिस्तार भईसकेको एनआरएनको ग्लोबल सम्मेलनले प्रवासमा रहेका तीसौं लाख नेपालीहरुलाई गोलबन्द गर्दै अब स्पष्ट कार्ययोजनाका साथ फरक ढंगले अगाडि बढ्ने दिशामा सम्मेलन केन्द्रित हुनुपर्ने उनीहरुको राय छ ।

यस पटकको सम्मेलनमा अध्यक्ष पदको दावी गर्दै बहालवाला अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले उम्मेदवारी घोषणा गरिसकेका छन् । हिराचन आफ्नो चुनावी दौडाहामा हालै युरोप, अमेरिका, अष्ट्रेलिया, हङकङ तथा मध्यपूर्वी मुलुकहरुको भ्रमण सकेर छिट्टै राजधानी काठमाडौं ओर्लने तैयारीमा छन् भने लामिछाने पनि आफ्नो चुनावी अभियानका क्रममा बिभिन्न मुलुकहरुको भ्रमण र भेटघाटलाई सकेर छिट्टै राजधानी पुग्ने तैयारीमा छन् । यसपटकको सम्मेलनमा नेतृत्वका लागि हिराचन र लामिछानेको कडा प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ ।

यसैगरी उपाध्यक्षमा अस्ट्रेलियाकी ईन्द्रा वनले उम्मेदवारीको घोषणा गरेकी छिन् भने महासचिवमा जापानबाट डा. कुमार बस्नेतले उम्मेदवारीको घोषणा गरेका छन् । कोषाध्यक्षमा भने जापानबाट नम्रता पाण्डे र भवन भट्ट तथा अष्ट्रेलियाबाट गोवा कटुवाल गरी ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । कोषाध्यक्षमा जापानबाटै दुईजनाको उम्मेदवारी पर्नुलाई भने धेरैले रहष्यमय ढंगले हेरेका छन् । पाण्डे अघिल्लो कार्यसमितिबाट अभियानमा लागेकी हुन् भने भट्ट एनआरएन जापानको स्थापनाकालदेखि नै सक्रिय छन् । यसैगरी जापानबाटै हालका आईसीसी सदस्य किरणविक्रम थापाले एशिया प्यासिफक क्षेत्रीय कमिटीको उपसंयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जापानबाटै यतिधेरैको उम्मेदवारी पर्नुलाई पनि अन्य मुलुकका एनआरएनहरुले सहजरुपमा लिन सकेको देखिँदैन ।

धार्मिक, राजनैतिक, क्षेत्रीय तथा जातीय स्वार्थभन्दा माथि रहेर बिशुद्ध सामाजिक संस्थाका रुपमा बिश्वभरि रहेका नेपालीलाई एउटै सूत्रमा आबद्ध गर्ने सामाजिक सञ्जालका रुपमा एनआरएनको गठन, बिकास र बिस्तार भएको भएपनि पछिल्ला दिनहरुमा सिंगो एनआरएन अभियानको हितलाई भन्दा राजनैतिक रंगरोगन तथा बैचारिक आस्थाका आधारमा नेतृत्व चयन गर्ने प्रबृतिको बिकास भएकोले यस खालको प्रबृति ग्लोबल सम्मेलन र यसले चयन गर्ने नेतृत्वको सवालमा पनि प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिन्छ । जसले गर्दा एनआरएन अभियानका लागि उपयुक्त, सक्षम र योगदान दिन सक्ने ब्यक्तिहरु ओझेल पर्न सक्ने संभावनालाई नकार्न सकिँदैन । यसतर्फ एनआरएन अभियान्ता एवं यसका अगुवाहरु समयमै सजग रहनुपर्नेमा धेरैले चिन्ता र चासो ब्यक्त गरेका छन । यद्यपि एनआरएनमा राजनैतिक प्रभाव पर्न नहुनेमा सबै सचेत रहेको यसका नेतृत्व वर्गले दावी गरेका छन् । त्यसो भनिरहँदा आसन्न ग्लोबल सम्मेलनले कस्ता अनुहारहरुलाई जिम्मेवारीमा पठाउने हो त्यो भने हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया