शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

बिश्व ट्रयाडिशनल आर्चरी संघ कोरियाको आयोजनामा सम्पन्न पांचौ बिश्व ट्रयाडिशनल आर्चरी फेष्टीबलमा नेपाली टोलीले सफल सहभागिता जनाएको छ । नेपाल आर्चरी संघको मातहतबाट रामकाजी बान्तवनाको नेतृत्वमा योगेन्द्र शेरचन, संजिवमान तुलाचन, श्रीमती मुगा बान्त्वना र श्रीमती मोनिका शेरचन सहितको पांच सदस्यीय परम्परागत आर्चरीका नेपाली खेलाडी टोलीले सेप्टेम्बर २३ देखि २७ तारिखसम्म कोरियाको छनान शहरमा आयोजित फेष्टिबलमा सफल सहभागिता जनाएको हो । बिश्वका २५ देशले सहभागिता जनाएको उक्त बिश्व ट्रयाडिशनल आर्चरी फेष्टीबलमा खेलाडी टोलिले नेपालको परम्परागत बिशुद्द बांसको धनु र निगालोको शर प्रयोग गर्दै नेपालको परम्परागत आर्चरीको खेलको सफल प्रर्दशन गरेका थिए । आयोजनामा खेललाई प्रतिष्पर्धात्मकरुपमा संचालन गर्दै क्रमश: २०, ५०, ६०, ७५ र ९० मिटरको दुरी गरि पांच चरणमा बिभाजन गरिएको थियो । जसमा नेपाली टोलिले छोटो दूरीको २० र ५० मिटर दुरीमा उत्कृष्ट खेल प्रदर्शन गरे भने लामो दूरीको ६०, ७५ र ९० मिटरमा समेत संतोषजनक रुपमा खेल प्रर्दशन गरे ।

खासगरि परम्परागत आर्चरीलाई अन्तर्राष्ट्रियरुपमा हाईलाईट गर्ने र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले युनेस्को अन्तर्गत यसको पहिचान कायम गराउन बिश्व ट्रयाडिशनल आर्चरी संघमा हाल बिश्वका ३५ राष्ट्रहरु यसका सदस्य बनिसकेका छन । दक्षिण कोरियाको बिभिन्न शहरहरुमा पांचौपटक सम्म आयोजना भईसकेको यस फेष्टिबलमा गतसाल मात्र पहिलो पटक नेपाली टोलीले सहभागिता जनाएको थियो । फेस्टिबलमा यो नेपालको दोश्रो सहभागिता हो । मात्र अनुभव संकलन रहंदै आएको भनिएता पनि नेपाली टोलीले गत साल भन्दा अझ उत्कृष्ट खेल प्रदर्शन गरेको दाबी गर्नुहुन्छ नेपाली टोलीका टीम म्यानेजर रामकाजी बान्तवना । उहांकाअनुसार समाबेश बिभिन्न नवौं बिधा मध्य सर्वोत्तम तीर (बेष्ट एरो) मा नेपालले अवार्ड प्राप्त गर्न सफल भएको छ । फेस्टिबलमा नेपाली टोलीले मुर्चुङगा र मादल बजाउंदै वारी जमुना पारी जमुना गीतमा लोकनृत्य समेत प्रस्तुत गरेको थियो ।

आर्चरी खेलाडीको सम्मानमा रात्रीभोज
थकाली सेवा समिति कोरियाले बिश्व ट्रयाडिशनल आर्चरी संघ कोरियाको आयोजनामा सम्पन्न पांचौ बिश्व ट्रयाडिशनल आर्चरी फेस्टिबलमा सहभागि हुन आएको नेपाली खेलाडी टोलीको सम्मानमा रात्रीभोजको आयोजना गरेको छ।

राजधानी सउलको तोङदेमुन शहरस्थित पूजा २ रेष्टुरेण्टमा २ तारिख आईतबार सांझ आयोजित रात्रीभोजको औपचारिक कार्यक्रममा थसेस कोरियाका अध्यक्ष भक्त शेरचन, नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चङकुमार गुरुङ र कास्की परिवारका अध्यक्ष कुशल थापाले खेलाडी टोलीलाई खाडा ओढाएर सम्मान गर्नुभएको थियो । सम्मानको क्रममा नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चङकुमार गुरुङले नेपाली जनजातिहरु माझ अति लोकप्रिय खेल परम्परागत आर्चरीलाई राष्ट्रियकरण गरिनुपर्ने र यस खेलको बिकासको लागि आफू नेपाल प्रस्थान पश्चात नेपाल आदिवासी जनजाति महासंघ नेपालको तर्फबाट समेत आवाज उठाउनको लागि पहल गर्ने बचनबद्दता ब्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया