बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

प्रकृतिको सुन्दर बान्कीमा सजिएको हाम्रो देश नेपाल, नागबेली परेका छङछङ बग्ने नदिनालाहरु, बिहान उठ्नासाथ सूर्योदयको पहेंलपूर किरणसंगै मनै लोभ्याउने मुस्कान छरिरहेका हिमश्रृँखलाहरु, हरियाली डाँडाकाँडा, समथर फाँटहरुमा तरेली परेका मनमोहक खेतीबाली अनि चराचुरुङ्गीहरुको चिरबिर चिरबिरसंगै शुरु हुने नेपाली जनजीवनका दैनिकी, साँच्चिकै लोभलाग्दो छ । धन्य छौं हामी नेपालीहरु, हामीलाई प्रकृतिले सबैचीज दिएको छ । हामीमा भएका यी अलौकिक सुन्दरतालाई नजिकबाट छाम्न र हेर्न संसारभरिका मानिसहरु बर्षेनी लाखौं खर्च गरेर नेपाल आउँछन । तर हामी भने आफ्नै घरदैलोको हिरा देख्न नसकेर बिश्वका कुनाकन्दरा चाहार्दै भौंतारिरहेका छौं ।

आफु जन्मेको, हुर्केको, बढेको र पढेको थातथलो संसारको जुन सुखसुबिधामा डुबुल्की मारे पनि कुन नेपालीको मनबाट ओझेल पर्न सक्ला र ? जन्मेदेखि लडिबुडी खेलेको घरआँगन, करेसाबारी अनि आफ्नो परिवार, नातागोता, आफ्ना साथीसंगीहरु र उनीहरुसँगै धित मरुञ्जेल मनाइने मेलापर्व, जात्रामात्रा र रीतिरिवाज नेपाली मनहरुबाट कहिल्यै अस्ताउन सक्दैनन् । यी र यस्ता नितान्त अपनत्व हामी संसारको जुनसुकै कुनामा गए पनि कुनै पनि मूल्यमा प्राप्त गर्न सक्दैनौ । तथापि यी सबै चीज छोडेर आज नेपालीहरु कृत्रिम सुखसयलको खोजीमा धन कमाउने अनि नयाँ सृष्टि गरी समृद्धशाली जीवन बिताउने सपना बोकेर परदेसिन बाध्य भएका छौं ।

हामीलाई हाम्रो माटोले भुँईमा टेक्न सिकायो, दुई हात जोडेर प्रणाम गर्न सिकायो, आफुभन्दा ठूलालाई सम्मान र सानालाई माया गर्न सिकायो, समाजमा मिलेर बस्ने सँस्कार सिकायो । अरुको सुखमा खुशी र दुखमा दुखी हुने मूल्य र मान्यता सिकायो तर जब हामी त्यही माटोका लागि केहि गर्न लायक हुन्छौ तब जन्मभूमिप्रति बिमुख भएर मुग्लानतिर भासिन पुग्छौ । यो क्रम रोकिनु आवश्यक छ । नेपाली पसिना आफ्नै माटोका लागि खर्चिने वातावरण निर्माण हुनुपर्दछ ।

यद्यपि नेपाल छोडेर हाम्रो भौतिक शरिर बाहिरिए पनि हाम्रो तन र मन हरेक पल–क्षण स्वदेशमै रहेको हुन्छ । हरेक रातका सपनीहरुमा आफ्नै माटोमा रमाईरहेका हुन्छौ । हाम्रो छातीभरि नेपाल, हृदयभरि नेपाल, मनमष्तिस्कमा नेपाल, अनुहारमा नेपाल र भावनामा नेपाल बोकेर बिरानो देशको निरसिला दैनिकी गुजारिरहेका हुन्छौ । हामीलाई हाम्रै दालभात, तरकारी प्यारो लाग्छ, हाम्रै देउसीभैलो, ख्याली र ठाडो भाका सुनेर कहिल्यै अघाउँदैनौ । अझ दशैंतिहार जस्ता चाडपर्वले त हामीलाई नेपालमै पुर्‍याएको हुन्छ । कृत्रिम सुखको बनावटी हाँसोमा भन्दा नेपाली मनहरु आफ्नै माटोमा रमाउन चाहन्छन् । त्यसैले त घरदेशको सम्झनामा नेपाली मनहरु परदेशमा भक्कानिएका हुन्छन् ।

यसैबीच नेपाली मनहरुलाई अरु भावुक बनाउँदै देउसी र भैलोको धुन कानैमा ठोक्किने गरी तिहार पर्वले दैलो टेकिसकेको छ । जतिसुकै कठोर मनहरुलाई पनि घरआँगन, आफ्नो परिवेश र बाल्यकालको सम्झना दिलाउने यस पर्वले सुख, समृद्धि, ऐश्वर्य र लक्ष्मी प्राप्तीको सन्देश दिन्छ भन्ने हाम्रो सामाजिक मान्यता रहीआएको छ । यस पावन पर्वको सुखद अवसरमा भूगोलमा जहाँ रहेको भएपनि नेपालआमाकी समस्त सन्ततीहरुमा मंगलमय हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

तपाईको प्रतिक्रिया