बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
कन्चनपुर– प्रधानमन्त्री भारत भ्रमणमा निस्कने चार दिनअघि यहाँका नेपालीले पनि कुटाइ खानु परेको छ । केही दिनअघि चर्चित टनकपुर बह्मदेव बाँधमा विद्युतीकरणका लागि तार बिछ्याएको घटना सेलाउन नपाउँदै भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले पुनः नेपालीभूमिमै आएर घरटहरा भत्काएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा बनाइएका नेपाली टहराहरू हतियारसहित आएको एसएसबीको टोलीले भत्काएको हो । महाकाली किनारमा रहेको भुजेलाबस्तीमा रहेको भक्तबहादुर रानामगर, कल्याण पाल र उनकै भाइको टहरा भत्काएको बताउँदै पीडितहरूले यस घटनाले नेपाली राष्ट्रियतालाई चुनौती दिएको टिप्पणी गरेका छन् ।
दिउँसो १ बजेतिर आएको एसएसबी टोलीले ‘यो हाम्रो भूमि हो, तिमी नेपालीहरू भाग’ भन्दै टहरा भत्काएको पीडित नरेन्द्र रानामगरले बताउनुभयो । ‘हामी बसिरहेका थियौँ, एकाएक एसएसबीको हुल आएर टहरा भत्कायो, र उनीहरु जङ्गलै जङगल भारततर्फ भागे,’ स्थानीयबासीहरू बताउँछन् ।
एसएसबीले टहरा भत्काएपछि स्थानीय बासिन्दाले आफूहरूलाई थप सुरक्षा दिइनुपर्ने प्रशासन समक्ष माग गरेका छन् ।
दशगजामा आएर कुनै पनि काम गर्दा दुई देशको उच्चस्तरीय सहमति चाहिने भए पनि भारतले विभिन्न समयमा नेपालीभूमिमा हस्तक्षेप गर्दै आएको छ । एसएसबीले भत्काउँदैमा आफूहरूले नेपालीभूमि नछाड्ने स्थानीयबासी देवदत्त पन्तले स्पष्ट पार्नुभयो ।
लामो समयदेखि दशगजा क्षेत्रमा विवाद रहँदै आएको भए पनि समाधानको प्रयास भने भएको छैन । एसएसबीले नेपालतर्फको थप ३० मिटर भू–भागमा पर्ने सबै क्षेत्रमा कब्जा जमाउने धम्की दिएको स्थानीयबासिन्दा बताउँछन् । एसएसबीका जवानले सीमाक्षेत्रमा बस्ने नेपालीलाई घर नभत्काउन आग्रह गर्दा हातपातसमेत गरेका छन् ।
सो क्षेत्रमा विगत १५ वर्षदेखि आफूहरू बस्दै आएको र हालसम्म कसैले केही नभनेको उनीहरुले बताएका छन् । उनीहरु भन्छन्– हामी भूमि छोड्न तयार छौँ, तर स्पष्ट सीमाङ्कन हुनुपर्छ ।
महाकाली सन्धिदेखि सो क्षेत्रमा नेपाली भू–भागसम्बन्धी विवाद कायम रहँदै आएको छ  । भारतले कञ्चनपुरका प्याराताल, बह्मदेव, शुक्लाफाट, झिलमिला लगायतका क्षेत्रमा नेपालीभूमिमा अतिक्रमण बढाएको छ भने सीमानाका नेपालीलाई आतङ्कित पार्दै आएको छ ।

तपाईको प्रतिक्रिया