बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – जापानबाट प्रतिनिधित्व गर्दै बिगत २ कार्यकालसम्म एनआरएन आईसीसीको सदस्य रहीसक्नुभएका ब्यवसायी किरणविक्रम थापाले एशिया प्यासिफिक क्षेत्रको सहसंयोजक पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

एनसीसी जापान कमिटी हुँदैं एनआरएन अभियानमा शुरुदेखिनै लाग्दै आउनुभएका श्री थापाले एनआरएन आईसीसीको पाँचौ ग्लोबल सम्मेलनले चयन गर्ने एशिया प्यासिफिकको सहसंयोजक पदमा दावी गर्दै उम्मेदवारीको घोषणा गर्नुभएको हो । उहाँले लामो समयसम्म एनआरएन अभियानमा लागेर बटुलेको अनुभव र ऊर्जालाई संस्थागत बिकास र बिस्तारमा उपयोग गर्ने उद्देश्यले सहसंयोजकको भूमिका र जिम्मेवारीमा रहेर कर्त्तब्यनिष्ठ भई काम गर्ने प्रतिबद्धता जाहेर गर्दै उम्मेदवारी दिने निर्णय गरेको बताउनुभएको छ ।

श्री थापा जापानमा एक सफल ब्यवसायी र समाजसेवीकारुपमा पनि चिनिनुहुन्छ । जापानबाट प्रतिनिधित्व गर्दै अग्रमोर्चामा रहेर एनआरएन अभियानलाई थप उचाईमा पुर्‍याउने कार्यमा आफ्नो भूमिका केन्द्रित रहने कुरा पनि उम्मेदवार श्री थापाले बताउनुभएको छ ।

राजधानी काठमाडौंमा हुन गईरहेको ग्लोबल सम्मेलन नजिकिदैं गर्दा बिभिन्न पदमा उम्मेदवारीको घोषणा गर्ने क्रम तिब्र भईरहेको छ । जसअनुसार हालसम्म जापानबाट महासचिवमा डा. कुमार बस्नेत, कोषाध्यक्षमा नम्रता पाण्डे र एशिया प्यासिफ़िकको सहसंयोजकमा श्री थापाको उम्मेदवारी सार्बजनिक भईसकेको छ भने अध्यक्षमा बहालवाला अध्यक्ष देवमान हिराचन पनि चुनावी मैदानमा उत्रिने तैयारी भईरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया